लिपुलेकबारे बोल्यो रास्वपा

लिपुलेकबारे बोल्यो रास्वपा
  • १० भाद्र २०८२, मंगलवार ११:१६

काठमाडौँ । भारत र चीनबीच नेपालको भूमिबाट हुने लिपुलेक नाका खोल्ने सहमतिपछि करिब एक सातापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले औपचारिक धारणा सार्वजनिक गरेको छ। पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले मंगलबार जारी गरेको विज्ञप्तिमा नेपालको प्रत्यक्ष सहभागिता र सहमतिबिना कुनै पनि गतिविधि वा सम्झौता वैध नहुने स्पष्ट गरिएको छ।

mulpatra

विज्ञप्तिमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको ऐतिहासिक, भौगोलिक, राजनीतिक र कानुनी प्रमाणहरूले निर्विवाद रूपमा नेपालको अविभाज्य भूभाग भएको उल्लेख गरिएको छ। रास्वपाले संविधान, सन् १८१६ को सुगौली सन्धि र त्यसपश्चातका सन्धिसम्झौताहरूलाई आधार मानेर नेपालको अधिकार हिमालझै अडिग रहेको दाबी गरेको छ।

भारत र चीनबीच भएको सम्झौताप्रति सरकारको रवैयाप्रति गम्भीर ध्यानाकर्षण भएको रास्वपाले जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “संसदबाट तत्कालै रास्वपाले ध्यानाकर्षण गराएको पुनःस्मरण गराउन चाहन्छौं। यद्यपि, संसदमा हामीले उठाएको नक्सा र राष्ट्रियताको विषयप्रति सरकारले देखाएको अनिच्छाप्रति रास्वपा सशंकित बनेको छ।”

mulpatra mulpatra mulpatra

रास्वपाले प्रधानमन्त्रीको आसन्न भारत तथा चीन भ्रमणका क्रममा सम्बन्धित नेतृत्वसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको प्रश्न स्पष्ट र दृढतापूर्वक प्रस्तुत गर्न माग गरेको छ। साथै, संवेदनशील विषयको समाधान सत्तापक्ष–प्रतिपक्ष नभई एकमतको आधारमा शान्तिपूर्ण र कूटनीतिक तरिकाबाट खोजिनुपर्नेमा पार्टी प्रतिबद्ध रहेको स्पष्ट गरेको छ।

रास्वपाले नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमिकता र भौगोलिक स्वाधीनताको संरक्षणलाई सर्वोच्च दायित्व ठहर गर्दै आवश्यक सहयोगका लागि सदैव तयार रहने जनाएको छ।