राप्रपाको महाधिवेशन मंसिरमा गर्ने निर्णय
काठमाडौं । राजेन्द्र प्रसाद लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ। आज काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति तय गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ। समितिमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, सल्लाहकार, प्रदेश तथा जिल्ला अध्यक्ष, सांसद र भ्रातृ संगठनका प्रतिनिधिहरू समावेश रहनेछन्।

बैठकले महाधिवेशनको तयारीस्वरूप सक्रिय सदस्यता वितरण अभियानलाई भदौ मसान्तसम्म सञ्चालन गर्ने तथा सोही अवधिभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका पनि स्वीकृत गरेको छ। सक्रिय सदस्यता प्राप्त गरेका सदस्यहरूले मात्र महाधिवेशन प्रतिनिधिका रूपमा मतदान गर्न र उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको छ। साथै, असोज १५ देखि २४ गतेभित्र सातै प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ।
राप्रपाले कात्तिक ११ देखि ३० गतेसम्म प्रदेशसभा क्षेत्रीय निर्वाचन समितिमार्फत केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्ने जनाएको छ। छनोट भएका प्रतिनिधिहरूको विवरण मंसिर ७ गतेभित्र केन्द्रीय निर्वाचन समिति र केन्द्रीय सचिवालयमा पठाउनुपर्नेछ। पार्टीले संगठन सुदृढीकरण, युवा सहभागिता विस्तार तथा महाधिवेशनलाई सफल बनाउन देशव्यापी तयारी अभियान सञ्चालन गर्ने जनाएको छ।
![]() |
![]() |
![]() |
|---|



