माछापुच्छ्रे बैंकको दशैं अघि नै लाभांश, असोज १० गते डाक्यो साधारण सभा

काठमाडौं । अग्रणी बाणिज्य बैंक मध्येको माछापुच्छ्रे बैंकले दशैं अगाडि नै सेयरधनीहरूलाई लाभांश दिने भएको छ । दशैं अघि नै लाभांश वितरण गर्ने गरि लाभांश प्रस्ताव पारित गर्न माछापुच्छ्रे बैंकले वार्षिक साधारण सभा बोलाएको छ ।
बैंक सञ्चालक समितिको भदौ १९ गते बसेको बैठकले पोखरा, कास्कीमा २७औं वार्षिक साधारण गर्दैछ । उक्त सभाले पारित गरेसँगै शेयरधनीले लाभांश पाउन शुरु गर्नेछन् ।
माछापुच्छ्रे बैंक लिमिटेडको साधारण सभाले गत आर्थिक वर्ष २०८१÷८२ मा आर्जित नाफाबाट सेयरधनीलाई कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ। यसअनुसार, हाल कायम रहेको ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ चुक्ता पुँजीको आधारमा ४ प्रतिशत बोनस सेयर (४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ) र कर प्रयोजनसहित ४ प्रतिशत नगद लाभांश (४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ) वितरण गरिनेछ।
त्यसैगरी, बैंकले प्रतिसेयर १ सय रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय लिएको छ। साथै, बैंकको अधिकृत पुँजी १५ अर्ब रुपैयाँबाट बढाएर २० अर्ब रुपैयाँ पुर्याउने र बोनस सेयर तथा अग्राधिकार सेयर जारी गरी चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
बैंकको सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको २७औ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल र माछापुच्छे सेक्युरिटिजको वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भदौ २७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले भदौ २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।