राष्ट्र बैंकमा एकैपटक १०७ कर्मचारी सरुवा, कार्यकारी निर्देशकको जिम्मेवारी फेरबदल !

काठमाडौं– नेपाल राष्ट्र बैंकमा एकैपटक १०७ कर्मचारीको सरुवा भएको छ । सरुवा हुनेमा सहायक निर्देशकदेखि कार्यकारी निर्देशकसम्मका कर्मचारी रहेका छन् । विभिन्न कार्यालय, विभाग र महाशाखामा कार्यरत कर्मचारी सरुवा गरिएको हो । यसअघि एकैपटक सरुवा नगरिने चलन थियो ।
राष्ट्र बैंकको सूचनाअनुसार दुई कार्यकारी निर्देशक सरुवामा परेका छन्। आन्तरिक लेखापरीक्षण विभागमा कार्यरत नरेश शाक्यलाई लघुवित्त संस्था सुपरिवेक्षण विभागमा सरुवा गरिएको छ भने लघुवित्त सुपरिवेक्षणका विमलराज खनाललाई वित्त व्यवस्थापन विभागमा ल्याइएको छ ।
पोखरा कार्यालयमा कार्यरत निर्देशक दीपकराज लामिछानेलाई आन्तरिक लेखा परीक्षण विभागमा सरुवा गरिएको छ। यस्तै, ३८ उपनिर्देशकको एकै पटक सरुवा भएको छ । सरुवा हुनेमा ६६ सहायक निर्देशक पनि छन् । हाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर विदेश यात्रामा छन् ।