Close

Recent Posts

हिन्दुकुश–हिमालयमा यस वर्ष वर्षा कम हुने, नेपालमा के हुन्छ ?

हिन्दुकुश–हिमालयमा यस वर्ष वर्षा कम हुने, नेपालमा के हुन्छ ?
  • २९ जेष्ठ २०८३, शुक्रबार ०८:२५

काठमाडौं । हिन्दुकुश–हिमालय (एचकेएच) क्षेत्रका अधिकांश देशमा यस वर्ष मनसुन वर्षा सामान्यभन्दा कम हुने प्रक्षेपण सार्वजनिक भएको छ। तर नेपालका लागि भने तस्वीर केही फरक देखिएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) ले क्षेत्रीय रूपमा कम वर्षाको संकेत गरे पनि नेपालका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

mulpatra

ईसीमोडद्वारा प्रकाशित ‘हिन्दुकुश–हिमालय मनसुन आउटलुक–२०२६’ अनुसार भुटान, भारत, नेपाल र पाकिस्तानका केही भागमा औसतभन्दा कम वर्षा हुने अनुमान गरिएको छ। साथै सम्पूर्ण क्षेत्रमा तापक्रम सामान्यभन्दा माथि रहने प्रक्षेपण गरिएको छ। वैज्ञानिकहरूका अनुसार कम वर्षाको पूर्वानुमानलाई सुरक्षित अवस्थाको संकेतका रूपमा लिनु गलत हुनेछ, किनकि छोटो समयमा हुने अत्यधिक वर्षाले बाढी, पहिरो र अन्य विपद्को जोखिम अझै उच्च राख्नेछ।

यता नेपालमा भने मनसुन सामान्यभन्दा सक्रिय रहने संकेत देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली, गण्डकी, बागमती र लुम्बिनी प्रदेशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ। विशेषगरी कर्णालीको पूर्वी भाग, लुम्बिनीको उत्तरी क्षेत्र र गण्डकी प्रदेशका अधिकांश जिल्लामा सामान्यभन्दा बढी पानी पर्ने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको विभागले जनाएको छ।

mulpatra mulpatra mulpatra

मौसमविद्हरूका अनुसार यस वर्ष तापक्रम पनि सामान्यभन्दा माथि रहने सम्भावना छ। यसको प्रत्यक्ष असर कृषि, स्वास्थ्य, जलस्रोत, ऊर्जा र पूर्वाधार क्षेत्रमा पर्ने देखिएको छ। बढी वर्षाका कारण बाढी, डुबान र पहिरोको जोखिम बढ्नेछ भने उच्च तापक्रमले रोगव्याधि फैलिने सम्भावना पनि बढाउनेछ।

ईसीमोडका जलविज्ञ मनीष श्रेष्ठका अनुसार मनसुन कमजोर देखिए पनि छोटो अवधिमा हुने अत्यधिक वर्षा ठूलो चुनौती बन्न सक्छ। उनका अनुसार लामो समयसम्म सुख्खा अवस्था रहने र त्यसपछि एक्कासि भारी वर्षा हुने प्रवृत्तिले विशेषगरी पहाडी क्षेत्रमा आकस्मिक बाढी र पहिरो निम्त्याउन सक्छ।

विज्ञहरूले जलवायु परिवर्तनका कारण मनसुनको स्वरूप झन् अनिश्चित बन्दै गएको बताएका छन्। अहिले खडेरी र बाढी दुवै जोखिम एउटै मौसममा देखिन थालेका छन्। हिमपातको मात्रा घट्दै जाँदा प्राकृतिक जलसञ्चय क्षमता कमजोर बनेको र वर्षाको उतारचढावप्रति नदी तथा भू–जल प्रणाली अझ संवेदनशील बन्दै गएको उनीहरूको भनाइ छ।

Image Source: © https://mulpatra.com

मनसुनको अनिश्चितताले विपद् व्यवस्थापनमा नयाँ चुनौती थपेको छ ईसीमोडले जनाएको छ। त्यसैले सरकार, प्राविधिक निकाय र स्थानीय तहबीच प्रभावकारी समन्वय तथा पूर्वतयारी आवश्यक भएको उनले बताइन्।

विज्ञहरूले यस वर्ष नेपालमा वर्षा बढी हुने सम्भावना रहे पनि मुख्य चुनौती वर्षाको मात्रा नभई त्यसको वितरण र तीव्रता हुने बताएका छन्। यदि छोटो समयमा अत्यधिक वर्षा भयो भने बाढी, पहिरो, सडक अवरुद्ध, विद्युत् संरचनामा क्षति तथा कृषि उत्पादनमा असर पर्न सक्ने चेतावनी दिइएको छ।

त्यसैले मौसमविद् र विपद् व्यवस्थापनका जानकारहरूले मनसुन अवधिभर मौसम पूर्वानुमान, प्रारम्भिक चेतावनी प्रणाली र स्थानीय तहको तयारीलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्। उनीहरूका अनुसार जलवायु परिवर्तनको वर्तमान अवस्थामा एउटै प्रकारको विपद्का लागि मात्र तयारी गर्नु पर्याप्त छैन, बहुआयामिक जोखिम व्यवस्थापन नै अहिलेको आवश्यकता हो।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com