Close

Recent Posts

भट्ट, अग्रवाल र गोल्छा जोडिएको मुद्धा दर्ता, ८६ प्रतिवादी बनाउँदै २७ अर्ब ८० करोड बिगो दाबी

भट्ट, अग्रवाल र गोल्छा जोडिएको मुद्धा दर्ता, ८६ प्रतिवादी बनाउँदै २७ अर्ब ८० करोड बिगो दाबी
  • २९ जेष्ठ २०८३, शुक्रबार १०:१५

काठमाडौँ । व्यवसायी दीपक भट्ट, शंकरलाल अग्रवाल, सुलभ अग्रवाल, साहिल अग्रवाल तथा पूर्व एफएनसीसीआई अध्यक्ष शेखर गोल्छासमेतलाई प्रतिवादी बनाउँदै वित्तीय, धितोपत्र, बैंकिङ र सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर कसुरमा तीन फरक अदालतमा मुद्दा दायर गरिएको छ ।

mulpatra

जिल्ला अदालत काठमाडौं, विशेष अदालत र उच्च अदालत पाटनमा बिहीबार दायर गरिएका मुद्दामा कुल ८६ जनालाई प्रतिवादी बनाइएको छ भने करिब २७ अर्ब ८० करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले धितोपत्रसम्बन्धी कसुरमा ८१ जनाविरुद्ध १ अर्ब १४ करोड रुपैयाँभन्दा बढी बिगो दाबीसहित मुद्दा दायर गरेको हो । अभियोगपत्रअनुसार प्रतिवादीहरूले भृकुटी स्टक ब्रोकिङलाई केन्द्र बनाएर ‘सर्कुलर ट्रेडिङ’ मार्फत नेपाल पुनर्बिमा कम्पनी, एनएलजी इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफलगायत कम्पनीको सेयर मूल्य कृत्रिम रूपमा बढाई बजारमा चलखेल गरेको आरोप छ ।

mulpatra mulpatra mulpatra

धितोपत्र ऐनअन्तर्गत झुटो कारोबार, मूल्यमा कृत्रिम उतारचढाव, बजार प्रभावित पार्ने तथा जालसाजीपूर्ण कारोबार गरेको अभियोग लगाइएको छ । विशेष अदालतमा दायर सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टसहित ३९ जनाविरुद्ध करिब २२ अर्ब ३९ करोड रुपैयाँ बिगो दाबी गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिमा प्राधिकरण, धितोपत्र बोर्ड, राष्ट्र बैंक, नेप्से तथा सीडीएससीबाट प्राप्त विवरणका आधारमा गैरकानुनी स्रोतबाट आर्जित रकम सेयर बजार तथा अन्य क्षेत्रमा लगानी गरी रकमको वास्तविक स्रोत लुकाउने प्रयास गरिएको निष्कर्ष निकालेको जनाएको छ । आरोपितहरूले रकम विभिन्न खातामार्फत तहकीकरण गर्दै ‘लेयरिङ’ गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोगपत्रमा उल्लेख छ ।

उच्च अदालत पाटनमा दायर बैंकिङ कसुरसम्बन्धी मुद्दामा दीपक भट्ट, सुलभ अग्रवाल, साहिल अग्रवाल र शंकरलाल अग्रवालविरुद्ध ४२ करोड १४ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ । अभियोगअनुसार जगदम्बा स्टिल्सले विभिन्न बैंकबाट उद्योग सञ्चालनका लागि लिएको चालु पूँजी तथा अल्पकालीन कर्जा योजनाबद्ध रूपमा दुरुपयोग गरी दीपक भट्टको स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ्समार्फत सेयर लगानीमा प्रयोग गरिएको थियो । अनुसन्धानमा बैंक तथा नियामक निकायलाई झुक्याउन नक्कली बैना कागजातसमेत प्रयोग गरिएको दाबी गरिएको छ ।

Image Source: © https://mulpatra.com

मुद्दामा शेखर गोल्छा, राजबहादुर शाह, उपासना पौडेल, रोहित गुप्ता, ऋषिराज मोर, सन्दीप चाचन अग्रवाल, अमित मोरलगायत चर्चित व्यवसायी तथा बिमा कम्पनीका पदाधिकारीलाई पनि प्रतिवादी बनाइएको छ । सरकारी पक्षका अनुसार व्यावसायिक समूहबीच सामूहिक लगानी गरेर सेयर बजारमा योजनाबद्ध चलखेल गरिएको थियो । अनुसन्धानका क्रममा केही कारोबार एउटै इन्टरनेट नेटवर्क तथा आपसमा सम्बन्धित बैंक खातामार्फत सञ्चालन भएको प्रमाण फेला परेको जनाइएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले संयुक्त रूपमा अनुसन्धान अघि बढाएको यो प्रकरण पछिल्लो समय नेपालको वित्तीय क्षेत्रकै ठूलो संगठित आर्थिक अपराधका रूपमा हेरिएको छ । हाल दीपक भट्ट र सुलभ अग्रवाल हिरासतमा छन् भने केही प्रतिवादी फरार रहेको अभियोगपत्रमा उल्लेख छ । सरकारी वकिल कार्यालयले फरार प्रतिवादीविरुद्ध पक्राउ पुर्जी जारी गरी कानुनबमोजिम कैद, जरिवाना तथा बिगो असुलउपर गराउन अदालतसँग माग गरेको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com