Close

Recent Posts

साउनमा ११ अर्ब रुपैयाँले घट्यो, आकर्षण देखिएन

साउनमा ११ अर्ब रुपैयाँले घट्यो, आकर्षण देखिएन
  • २२ भाद्र २०८२, आईतवार १०:४५

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा बैंकहरूले प्रवाह गर्ने कर्जा ११ अर्ब रूपैयाँले घटेको छ । वाणिज्य बैंकहरूले गत असारमा कुल ४९ खर्ब ७५ अर्ब रूपैयाँ कर्जा लगानी गरेकोमा साउनमा यस्तो लगानी ४९ खर्ब ६४ अर्ब रूपैयाँमा सीमित भएको हो ।

mulpatra

नेपाल बैंकर्स संघका अनुसार, बैंकहरूको निक्षेप संकलन समेत ५२ अर्ब रूपैयाँ घटेको छ । असारमा ६५ खर्ब ३१ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरूको साउनमा यस्तो निक्षेप घटेर ६४ खर्ब ७९ अर्ब रूपैयाँमा सीमित भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूमा अहिले करिब सात खर्ब रूपैयाँ कर्जा लगानी योग्य रकम थुप्रिएको छ । कर्जा लगानी हुन नसक्दा बैंकहरूको कर्जा निक्षेप अनुपात औसतमा ७५.८३ प्रतिशत छ । बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउँछन् ।

राष्ट्रिय वाणिज्य बैंकको यस्तो अनुपात सबैभन्दा कम ६२.४७ प्रतिशत छ । बैंकले चार खर्ब ८९ अर्ब निक्षेप संकलन भएकोमा तीन खर्ब पाँच अर्ब कर्जा लगानी गरेको छ ।

सबैभन्दा धेरै निक्षेप हुनेमा ग्लोबल आइएमई बैंक छ । बैंकले पाँच खर्ब ८३ अर्ब रूपैयाँ निक्षेप संकलन गरेकोमा चार खर्ब ४४ अर्ब रूपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७४.१६ प्रतिशत छ ।

चालु आवको पहिलो महिनामा कर्जा बढाउन एभरेष्ट र ग्लोबल आइएमई बैंक आक्रामक देखिएका छन् । सञ्चालनमा रहेका २० मध्ये साउनमा १० बैंकको कर्जा गत असारको तुलनामा घटेको छ भने १० बैंकले बढाएका छन् ।

सबैभन्दा धेरै कर्जा बढाउनेमा एभरेष्ट बैंक देखिन्छ । यो बैंकले साउनमा मात्रै कर्जा ५ अर्ब ६४ करोड रुपैयाँले बढाएर २ खर्ब २९ अर्ब ३० करोड रुपैयाँ पु¥याएको छ ।

त्यस्तै, ग्लोबल आइएमई बैंकले साउनमा ४ अर्बले कर्जा बढाएको छ । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो महिनामा नै ८ अर्ब ६८ करोडले घटाएको छ ।

हिमालयन बैंकको कर्जा ३ करोड ५० लाख रुपैयाँले घट्दा राष्ट्रिय वाणिज्य बैंकको कर्जा साउनमा ३ अर्ब १७ करोड रुपैयाँले घटेको छ ।

कृषि विकास बैंकको २ अर्ब ६७ करोड, नबिल बैंकको २ अर्ब ८ करोड र कुमारी बैंकको कर्जा २ अर्ब ५ करोड रुपैयाँले घटेको छ ।

कर्जा विस्तार मात्रै नभएर निक्षेप बढाउनमा पनि ग्लोबल आइएमई बैंक अगाडि देखिन्छ । यो बैंकले निक्षेप ७ अर्ब ९६ करोड रुपैयाँले बढाएर ५ खर्ब ८३ अर्ब १ करोड पु¥याउँदा नबिल बैंकले ४ अर्ब ७६ करोड रुपैयाँले बढाएर ५ खर्ब ३७ अर्ब रुपैयाँ बनाएको छ । त्यस्तै, हिमालयन बैंकले निक्षेप ४ अर्ब ६७ करोडले बढाएर ३ खर्ब १७ अर्ब ७३ करोड रुपैयाँ पु¥याएको छ ।

नेपाल एसबिआई बैंकको निक्षेप १ अर्ब ७ करोड रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकको निक्षेप १ अर्ब ९८ करोड रुपैयाँले बढेको छ । यता सिद्धार्थ बैंकको निक्षेप सर्वाधिक १७ अर्ब ४४ करोड रुपैयाँले घट्दा कुमारी बैंकको १६ अर्ब ३१ करोड रुपैयाँले घटेको छ ।

यस्तै, नेपाल बैंकको निक्षेप ६ अर्ब ९८ करोड रुपैयाँ र प्रभु बैंकको निक्षेप ६ अर्ब ८१ करोड रुपैयाँले घटेको छ ।