जेनजी आन्दोलन जारीः गृहमन्त्री लेखकले दिए राजीनामा
काठमाडौं । नेपालमा जेनजी पुस्ताले सुरु गरेको आन्दोलनले गम्भीर रूप लिँदै गर्दा गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् ।

सोमबार साँझ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा मन्त्री लेखकले आन्दोलनका क्रममा २० जनाको ज्यान गएको र ३०० भन्दा बढी घाइते भएको तथ्य औंल्याउँदै नैतिक जिम्मेवारी स्वरूप पदमा नबस्ने बताएका थिए ।
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार मन्त्री लेखकले भने, ‘आजको प्रदर्शनमा ठूलो मानवीय क्षति भयो, त्यसको नैतिक जिम्मेवारी मैले लिनैपर्छ । त्यसैले नैतिकताका आधारमा पदमा बस्दिनँ ।’
![]() |
![]() |
![]() |
|---|
जेनजी पुस्ताको आन्दोलनलाई राज्यले कठोर ढंगले नियन्त्रण गर्ने प्रयास गर्दा सुरक्षाकर्मीले गोली प्रहारबाट मृत्यु हुनेको संख्या २० पुगिसकेको छ भने मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । ट्रमा सेन्टर, सिभिल हष्पिटल लगायतका अन्य हष्पिटलमा उपचार गराइरहेका धेरैको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
देशभरि अहिले साँझ सम्म झडप भइरहेको अवस्था छ । झापा विर्तामोडमा राति ८ बजेको प्रदर्शनमा प्रदर्शनकारीले एउटा मोटर साइकलमा आगजनी गरेका छन । उता चितवनमा समेत रातिसम्म प्रदर्शन भइरहेको छ ।



