जेनजी आन्दोलनबाट नीजितर्फ ३६ अर्ब क्षति, १६ हजार रोजगारी प्रभावित

काठमाडौं– भदौ २३ र २४ गतेको आन्दोलनमा भएको आगजनी र तोडफोडबाट उद्योग व्यवसायमा करिब ३६ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) का अनुसार, उक्त क्षति मुख्यतया उद्योग र व्यवसाय क्षेत्रमा भएको हो ।
क्षतिको विवरण संकलन भइरहेको र मूल्यांकन कार्य जारी रहेकोले क्षतिको संख्या र रकम अझै बढ्न सक्ने सम्भावना रहेको परिसंघले जनाएको छ ।
यसले मुलुकभरिका उद्योग र व्यवसायहरूमा करिब १६ हजार रोजगारीलाई प्रत्यक्ष रूपमा असर गरेको प्रारम्भिक आँकलन गरिएको छ । परिसंघ अन्तर्गत केन्द्रमा ३ सय ५० साना र मझौला उद्यमी सदस्य रहेका छन्, र मुलुकभर करिब ७ हजार सदस्य रहेका छन् ।