जेनजी आन्दोलनको असरः शेयर बजार २ मिनेटमै ४ प्रतिशतले घट्यो

काठमाडौँ । जेनजी आन्दोलनले डेढ हप्तादेखि बन्द रहेको शेयर बजार बिहीबार खुलेसँगै लगानीकर्ताहरू आत्तिँएर बेच्न शुरुगरेपछि बजारमा ठूलो गिरावट आएको छ। कारोबार खुलेको दुई मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले घटेपछि पहिलो सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको थियो ।
२० मिनेटपछि खुलेको बजारमा फेरि नेप्से परिसूचक ५ प्रतिशतले झरेपछि दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटका लागि कारोबार रोकियो। त्यसपछि पुनः सञ्चालनमा आएको बजारमा लगातार बिक्री चाप बढ्दा ६ प्रतिशतले घटेर तेस्रो सर्किट ब्रेक लागेपछि आजका लागि सम्पूर्ण कारोबार बन्द भएको हो।
सात दिनपछि खुलेको बजार जम्मा सात मिनेट मात्र चलेर बन्द भयो । २१७ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ७ अर्ब २८ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्से अब आइतबार मात्र खुल्ने छ ।
गत भदौ २३ गते २६७२.२५ विन्दुमा बन्द भएको नेप्से बिहीबार १६०.३३ अंकले घटेर २५११.९१ विन्दुमा झरेको छ। प्रि–ओपन सेसनमै नेप्से ३४ अंकले घटेको थियो।
जेनजी आन्दोलनका कारण भएको क्षति र त्यसबाट बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरूमा पर्न सक्ने सम्भावित दबाबका कारण बजार घट्न पुगेको छ । हिमालयन रि इन्सुरेन्स र नेपाल रि इन्सुरेन्स दुवै कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले घटेर सर्किट ब्रेक लागेको छ। वीमा प्राधिकरणका अनुसार हालसम्म २० अर्व रुपैयाको निर्जीवन विमा दावी परिसकेको कारण पनि बैंक, वित्तिय संस्था र वीमा कम्पनीको शेयर घटन पुगेको अनुमान गरिएको छ ।