१११ अंक बढ्यो सेयर बजार

काठमाडौं– जेनजी आन्दोलनपछिको दोस्रो कारोबार दिन (आइतबार) सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । आइतबार १११.७० अंक (४.४४ प्रतिशत)ले बढ्दै सेयर बजार २६२३.६२ को बिन्दुमा उक्लिएको छ । यसअघि गत बिहीबार सेयर बजार १६०.३३ अंकले घटेको थियो ।
उच्च वृद्धिका बिच आज सामूहिक लगानी र निर्जीवन बिमा बाहेक सबैजसो समूहको सूचक बढ्यो । सबैभन्दा बढी व्यापारको सूचकमा ८.६६ प्रतिशतले वृद्धि भयो । आज कारोबारमा आएका २२४ कम्पनीको मूल्य बढ्यो भने २८ को मूल्यमा करेक्सन आयो । आज दर्जन बढी कम्पनीको मूल्य सकारात्मक सर्किट लेबलमा बढे । जसमा सिन्धु विकास बैंक, भूगोल इनर्जी, गुडविल फाइनान्स, सिवम् सिमेन्ट, जोशी हाइड्रो पावर, अपि पावरलगायत छन् ।
आज कारोबार रकमका हिसाबले नेपाल रि इन्स्योरेन्स, हिमालयन रि इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेनस, शिवम् सिमेन्ट, हिमालयन डिष्ट्रिलरी लगायत शीर्ष स्थानमा रहे । नेपाल रिको मात्रै ८३ करोड १३ लाख रुपैयाँमाथिको कारोबार भयो । आज समग्रमा २ करोड ३२ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब १७ करोड ९५ लाख रुपैयाँमाथिको रह्यो ।
जेनजी आन्दोलनपछिको पहिलो कारोबार दिन (बिहीबार) लगानीकर्ता त्रसित हुँदा लगातार नेगेटिभ सर्किटसँगै कारोबार हल्ट भएको थियो । यद्यपि, योबिचमा अर्थमन्त्री रामेश्वर खनालले लगानीकर्तालाई सकारात्मक पार्ने गरि थालेका प्रयासले आजको कारोबार सुधारिएको हो ।
विशेषगरी लगानीकर्ताहरूको सुझावका आधारमा अर्थमन्त्री खनालले बिहीबार नै धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशकको नेतृत्वमा ४ सदस्यीय कार्यदल गठन गरेका थिए । उनले ५ दिनको समय सीमा तोकेर कार्यदललाई कार्यादेश दिएका छन् ।
जसका आधारमा विस्तृत कदम चालिने बताइएको छ । सँगै, योबिचमा अर्थमन्त्रीले ठाडो निर्देशनका आधारमा नेप्सेको १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था हटाएका छन् । जसबाट लगानीकर्ता उत्साहित देखिन्छन् ।
अर्थमन्त्रीले चालेका सकारात्मक कदमसँगै लगानीकर्ता प्रोत्साहित हुँदा सेयर बजारमा बाउन्स ब्याकको अवस्था सिर्जना भएको हो ।