Close

Recent Posts

आज घटस्थापना, शुरु भयो दशैं

आज घटस्थापना, शुरु भयो दशैं
  • ६ आश्विन २०८२, सोमबार ०८:३६

काठमाडौं । हिन्दुहरुको महान चाड बडादशैं शुरु भएको छ । दशैको पहिलो दिन आज घटस्थापनामा वैदिक विधिअनुसार दियो, कलश र गणेश स्थापना गरि जमरा राखेपछि बडादशै शुरु भएको मानिन्छ । विधिपूर्वक स्थापना गरिएको घडामाथि दुर्गामाताको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो ।

mulpatra

गाईको गोबरले लिपपोत गरि पुजाकोठामा चोखो माटो र बालुवामा जौ, मकै छरेर विधिपूर्वक जमरा राखिन्छ । यसरी राखिएको जमरा विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीकको रुपमा लगाइन्छ ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडादर्शैमा नवरात्र भर विभिन्न देवीहरुको पुजा गरिन्छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ । यी नौ दिनमा दुर्गाका नौ स्वरुपको पुजा गरिन्छ । दशौं दिन आफुभन्दा ठुलाबडाबाट टिका र आशिर्वाद थाप्ने गरिन्छ ।

नौ देवी स्वरुप शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको क्रमस नौ दिन पूजा आराधना गरिन्छ ।

घटस्थापनाको सातौ दिन फूलपाती भित्राइन्छ भने महाअष्टमी र महानवमीका दिन विभिन्न जनावरहरुको बलि दिई विशेष पुजा गर्ने चलन छ ।