२ महिनामा ४७ अर्बको निर्यात हुँदा आयात ३ खर्बमाथि

काठमाडौं– चालु आव २०८२÷८३ को दुई महिनामा ३ खर्ब ५ अर्ब १५ करोड ५० लाख ९९ हजार रुपैयाँको आयात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा १६.२३ प्रतिशतले बढी हो ।
गत आव २०८१÷८२ को दुई महिनामा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार रुपैयाँको आयात भएको थियो ।
त्यसैगरी, चालु आवको भदौँ महिनासम्म ४७ अर्ब ३१ करोड ७६ लाख ६३ हजार रुपैयाँको निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ८८.५७ प्रतिशतले बढी हो । गत आवको भदौँ महिनासम्म २५ अर्ब ९ करोड ३१ लाख ३ हजार रुपैयाँको निर्यात भएको थियो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आवको दुई महिनामा व्यापार घाटा ८.५९ प्रतिशतले बढेर २ खर्ब ५७ अर्ब ८३ करोड ७४ लाख ३६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख २३ हजार रुपैयाँको रहेको थियो ।
त्यस्तै, कुल वैदेशिक व्यापार ३ खर्ब ५२ अर्ब ४७ करोड २७ लाख ६१ हजार रुपैयाँ रहेको छ, जुन गत आवको सोही अवधिको तुलनामा २२.५४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा यस्तो व्यापार २ खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख २८ हजार रुपैयाँ रहेको थियो ।
भदौँ महिनासम्ममा आयात÷निर्यात अनुपात अनुपात ६.४५ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो अनुपात १०.४६ प्रतिशत रहेको थियो । २ महिनामा विभिन्न बस्तुहरु आयात गरेबापत् नेपाल सरकारले ७७ अर्ब ६३ करोड ५२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।