बिमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा, अर्थमन्त्रीले गराए शपथ

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालसमक्ष नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिएका हुन्।
मन्त्रिपरिषद्को यही असोज ९ गतेको निर्णयबाट शर्मा नियुक्त भएका हुन्। उनले आजै कार्यभार सम्हाल्ने अर्थ मन्त्रालयले जनाएको छ। यसअघि शरद ओझा अध्यक्ष नियुक्त भए पनि अनुभवको फर्जी कागजात बुझाएको आरोपपछि सरकारले न्यायिक समिति बनाएर छानबिन गरेको थियो।
समितिले छानबिन प्रतिवेदन बुझाउँदै अध्यक्षको योग्यता नपुग्ने बताएको थियो। छानबिनसँगै ओझा निलम्बनमा परेका थिए। अध्यक्षको जिम्मेवारी सरकारले सहसचिव सेवन्तक पोखरेललाई दिए पनि सर्वोच्चको आदेशबाट ओझा पुनः प्राधिकरण फर्किएका थिए।
सरकारले उनलाई हाजिर नगराउन प्राधिकरणलाई निर्देशन दिएको थियो। योसँगै शर्मालाई अध्यक्ष नियुक्त गरिएको हो।