बालबालिकाको दशैंको दक्षिणाः लगानी सिकाउने अवसर

काठमाडौं । आज विजयादशमी अर्थात दशैंको टिकाको दिन । दशैं भन्नासाथ मिठो खाना, परिवारको जमघट, मान्यजनबाट प्राप्त टीका–जमरा र दक्षिणा सबैको मानसपटलमा आउने गर्छ। परम्परागत रूपमा दशैंमा छोरी–चेली, ज्वाँइ, भान्जा–भान्जी र साना–साना बालबालिकालाई दक्षिणा स्वरूप पैसा दिने चलन रहिआएको छ।
दशैंमा दक्षिणाबाट प्राप्त बालबच्चा वा छोराछोरीको दक्षिणा केवल रमाइलो वा फजुल खर्चमा खर्च गर्नुभन्दा यसको सदुपयोग गर्दै बालबालिकालाई लगानी र बचतको महत्व सिकाउन सके उनीहरुमा व्यवहारिक ज्ञान प्राप्त हुने गर्दछ ।
बालबालिकाको टिका लगाएर आएको दक्षिणालाई लगानीमा प्रयोग गर्न सकिने विभिन्न उपायहरु छन् । ती उपाय अपनाएर बालबालिकालाई लगानी बारे सिकाउने मौका समेत दशैंले दिने गर्दछ ।
हामीले दशैंमा बालबालिकाले कमाएको रकम के के गर्न सकिन्छ भनेर केही बुँदाहरु राखेका छौं ।
सेयर बजारमा लगानीः बालबालिकाको नाममा डिम्याट खाता खोली दशैंमा पाएको सानो रकमबाट पनि सेयर बजारको प्राथमिक शेयर आइपीओ वा दोस्रो बजारमा लगानी गर्न सकिन्छ।
बैंक बचत खाताः अधिकांश बैंकहरूले बाल बचत खाता सञ्चालन गरेका छन्। अभिभावकले दक्षिणा त्यहाँ जम्मा गरिदिए बालबालिकामा बचत गर्ने बानी बस्छ।
जीवन बीमाः दशैंको दक्षिणाबाट आंशिक रकम छुट्याएर बालबालिकाको जीवन बीमा पोलिसि लिन सकिन्छ, जसले दीर्घकालीन सुरक्षा र बचत दुवै प्रदान गर्छ।
खुत्रुकेमा बचतः सानातिना बालबालिकाका लागि खुत्रुकेमा पैसा हाल्ने बानी बसाल्दा उनीहरूले पैसाको मूल्य बुझ्न थाल्छन्।
यसले सानो रकम भए पनि नियमित बचत र लगानीले भविष्यमा ठूलो योगदान पुर्याउँछ। अभिभावकले दशैंमा आएको दक्षिणा बचत वा लगानीतर्फ मोडिदिए बालबालिकाले पैसाको महत्व, अनुशासन र भविष्य निर्माणको आधार सिक्छ सक्छन ।
दशैंमा प्राप्त दक्षिणा बालबालिकाका लागि केवल खर्च गर्ने साधन होइन, सिकाइको अवसर पनि हो। फजुल खर्चतर्फ आकर्षित हुने प्रवृत्तिलाई रोक्दै उनीहरूलाई बचत, लगानी र पैसाको मूल्यबारे सचेत बनाउने उपयुक्त समय यही पर्व हो।