सर्वसाधारण चढ्न नसक्ने बन्दै हवाईसेवा, आन्तरिक हवाई भाडा दर सार्वजनिक

काठमाडौं । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई उडानका लागि अधिकतम भाडादर तोकेको छ। तर, तोकिएको नयाँ दर सामान्य भन्दापनि निकै महँगो भएको भन्दै यात्रुहरू आक्रोशित बनेका छन्।
प्राधिकरणले स्वीकृत गरेको अधिकतम भाडादर अनुसार काठमाडौं–भद्रपुरको भाडा रु। १२,६२१, काठमाडौं–नेपालगञ्ज रु। १३,७५०, काठमाडौं–धनगढी रु। १७,५७१ र काठमाडौं–सुर्खेत रु। ९,०३० तोकिएको छ। यात्रुहरूले भने काठमाडौं–धनगढीको न्यूनतम भाडा नै काठमाण्डौ–नयाँदिल्ली रुटको अन्तर्राष्ट्रिय भाडाभन्दा महँगो भएको उल्लेख गर्दै चर्को आलोचना गरेका छन्।
सामान्य दिनमा सोही गन्तव्यमा ४०–५० प्रतिशत कम भाडामा टिकट पाइने भए पनि पर्व नजिकिँदै गर्दा अस्वाभाविक रूपमा मूल्य बढाइएकाले यात्रुहरूको असन्तोष चुलिएको छ।
यता प्राधिकरणले भने चाडपर्वमा टिकटको अत्यधिक माग हुने भएकाले यात्रुलाई सहज बनाउन अधिकतम भाडादर तोकिएको दाबी गरेको छ। तर यात्रु अधिकारकर्मीहरूले यो कदमलाई ‘न्यायोचित भाडादर तोक्नुको सट्टा एयरलाइन्सलाई यात्रु शोषण गर्ने बाटो खुला गरिदिएको’ भन्दै आपत्ति जनाएका छन्।
प्राधिकरणले यात्रुले अधिकतम तोकिएको भाडाभन्दा बढी तिर्नुपर्ने अवस्था आए तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उजुरी प्रणाली वा ०१४११३६३ नम्बरमा जानकारी दिन आग्रह गरेको छ।