यी मुख्य सडकहरू बाढी–पहिरोका कारण अवरुद्ध, जनजीवन प्रभावित

काठमाडौँ । अविरल वर्षासँगै देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण मुख्य सडक सञ्जाल अवरुद्ध भएका छन्। दशैैं नसकिँदै सडक अवरुद्ध भएपछि दशैं मनाउन गएकाहरु समस्यामा परेका छन् ।
शुक्रबार रातिदेखि परेको निरन्तर भारी वर्षाका कारण धेरै ठाउँमा सडक बगाएको वा पहिरोले पुरेको छ। यसले गर्दा जनजीवन पूर्ण रूपमा प्रभावित बनेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यका भित्र र बाहिरका धेरै सडक खण्डहरू अवरुद्ध छन्। कार्यालयले मौसम सुधार नभएसम्म उपत्यकाबाट बाहिरिने सवारी साधन नचलाउन चालक र यात्रुलाई अनुरोध गरेको छ।
पूर्वका सडकहरूमा क्षति
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–६ मेहेले सडक, सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ माडीखोरला सडक र सोलुखुम्बुको सदरमुकाम जोड्ने सडक खण्डमा पहिरोले अवरोध गरेको छ। ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–५ बलुवामा समेत सडक पुरिएको छ।
मधेस प्रदेशका मुख्य राजमार्गहरू ठप्प
सिरहाको सगरमाथा राजमार्गअन्तर्गत लहान–ठाडी सडक खण्ड, धनुषाको धनुषा–सिन्धुली सडक खण्ड र महोत्तरीको बर्दिवास–जनकपुर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छन्।
केन्द्रीय र पश्चिम क्षेत्रका सडक पनि प्रभावित
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्याङबुचेमा बाढीका कारण सडक कटान भएको छ। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ र काभ्रेको भुम्लु गाउँपालिका–१ मा पनि सडक अवरुद्ध भएका छन्।
यस्तै मकवानपुरको हेटौँडा–कुलेखानी सडक, चितवनको भरतपुर–ठोरी सडक, ललितपुरको महांकाल गाउँपालिका–५ क्षेत्र, धादिङको गजुरी गाउँपालिका–४ र ५ तथा सिन्धुलीको फिकलडाँडा–पाङ्राङ सडक खण्डमा समेत यातायात सञ्चालन बन्द छ।
प्रहरीका अनुसार धेरै स्थानमा सडक मर्मतका प्रयास भइरहेका छन् तर अविरल वर्षाका कारण राहत र उद्धार कार्यमा समेत कठिनाइ भइरहेको छ।
सतर्कता अपनाउन आग्रह
सडक अवरोध र पहिरोको जोखिम उच्च रहेको भन्दै ट्राफिक प्रहरीले जनतालाई अनावश्यक यात्रा नगर्न र जोखिम क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ। मौसम सामान्य भएपछि मात्र लामो दूरीको यात्रा गर्न सिफारिस गरिएको छ।


