आन्दोलनका नाममा व्यक्तिगत सम्पत्तिमा आगजनी र लुटपाट गर्नेलाई कारबाही नगरे भयावह स्थिति : व्यवसायी

काठमाडौं । हालैका जेनजी आन्दोलनका क्रममा देशभर निजी क्षेत्रका उद्योग, व्यवसाय र व्यक्तिगत सम्पत्तिमाथि भएको आगजनी, तोडफोड र लुटपाटका घटनाप्रति उद्यमी तथा व्यवसायीहरूमा चिन्ता थपेको छ । उनीहरूले दोषीमाथि तत्काल कानुनी कारबाही नभए आर्थिक र सामाजिक रूपमा देश भयावह अवस्थातर्फ धकेलिने चेतावनी दिएका छन्।
व्यवसायी महासंघका प्रतिनिधिहरूका अनुसार आन्दोलनका नाममा केही असामाजिक समूहले पसल, बैंक, होटल, उद्योग तथा सवारीसाधनमा आक्रमण गरी ठूलो मात्रामा क्षति पुर्याएका छन्। प्रारम्भिक अनुमानअनुसार निजी क्षेत्रले करिब ८० देखि १०० अर्ब रुपैयाँ बराबरको क्षति व्यहोरेको छ। बीमा कम्पनीहरूमा समेत २२ अर्ब रुपैयाँभन्दा बढी क्षतिपूर्तिका दाबी दर्ता भएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त रूपमा जारी वक्तव्यमा आन्दोलनका क्रममा भएका आगजनी र लुटपाटका घटनालाई “गंभीर आपराधिक गतिविधि” को रूपमा व्याख्या गर्दै दोषी पहिचान गरी तत्काल कानुनी कारबाही गर्न सरकारलाई आग्रह गरेका छन्। उनीहरूले भनेका छन् “यस्ता घटनाले व्यवसायीमात्र होइन, सम्पूर्ण अर्थतन्त्रमा गहिरो चोट पुर्याएको छ। कानुनी उपचारमा ढिलाइ भए आर्थिक गतिविधि ठप्प हुन सक्छ।”
सरकारले प्रभावित क्षेत्रका लागि पुनर्निर्माण, कर छुट, बैंकिङ सहुलियत र बीमा सहजीकरणका कार्यक्रम सार्वजनिक गरेको भए पनि व्यवसायीहरूले ती कार्यक्रम पर्याप्त नपुग्ने बताएका छन्। उनीहरूको भनाइमा वास्तविक राहत र सुरक्षाको अनुभूति नहुँदासम्म उद्यमशीलता पुनःस्थापित गर्न कठिन हुनेछ।
प्रमुख जिल्ला प्रशासन कार्यालयहरूमा क्षति विवरण संकलन भइरहेको छ भने गृह मन्त्रालयले आन्दोलनका क्रममा भएका आगजनी र लुटपाटबारे अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गरेको छ। तर दोषीमाथि तत्काल कारबाही भएन भने यसले कानुन र शासनप्रति जनविश्वास कमजोर बनाउने र लगानीकर्ताहरू देशबाहिर पलायन हुने चिन्ता व्यवसायीहरुमा छ ।
उनीहरूले सरकारसँग कानुनी कारबाही तीव्र बनाउन, सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाउन र भविष्यमा यस्ता गतिविधि रोक्न ठोस नीति ल्याउन आग्रह गरेका छन्। आन्दोलनका नाममा हुने व्यक्तिगत सम्पत्तिमा आगजनी र लुटपाटलाई कानुनी रूपमा कठोर रूपमा रोक्न सकेनौं भने नेपालको आर्थिक पुनरुत्थानमा अप्ठेरो हुने व्यवसायीहरुको बुझाई छ ।