बीपी राजमार्ग खुल्न अझै ३ दिन लाग्ने, अस्थायी डाइभर्सन निर्माण तीव्र गतिमा

काठमाडौँ । गत असोजमा बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्ग खुल्न अझै तीन दिन बढी लाग्ने देखिएको छ । विपी राजमार्ग बन्द भएसँगै दसैँको मुखमै सवारी आवागमन अवरुद्ध भएपछि यात्रुहरू विकल्पमा मध्यपहाडी लोकमार्ग र मदनभण्डारी राजमार्ग प्रयोग गर्न बाध्य भएका छन्।
सडक डिभिजन भक्तपुरका प्रमुख तथा डिभिजनल इन्जिनियर योगेश सुमनका अनुसार राजमार्ग सञ्चालनमा ल्याउन हाल अस्थायी डाइभर्सन निर्माण तीव्र गतिमा भइरहेको छ। उनका अनुसार चौकीडाँडा खण्डमा बिहीबारदेखि आंशिक रूपमा यातायात सञ्चालन गर्ने तयारी छ भने पूरै राजमार्ग शनिबारसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
कार्यालयका अनुसार कटुञ्जेबेसी र कालढुंगाको मर्मत कार्य पूरा भइसकेको छ भने मंगलटारको बोक्सीकुना र चारसयबेसी क्षेत्रमा मर्मत अझै जारी छ। शनिबारसम्म अस्थायी ट्र्याक तयार भएपछि सवारी साधन सुचारु हुने अपेक्षा गरिएको छ।
गत असोज तेस्रो साता परेको अविरल वर्षाका कारण बाढीले विभागले आफ्नै स्रोत र जनशक्ति प्रयोग गरी बनाएको अस्थायी डाइभर्सन बगाएको थियो।