बीमा कम्पनीहरुले दुई महिनामा गरे ४४ अर्ब २८ करोडको व्यापार
काठमाडौं– बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२÷८३ को २ महिनामा ४४ अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन, १४ वटा निर्जीवन, ३ वटा लुघ जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले चालु आवको भदौ महिनासम्म ४४ अर्ब २८ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को सोही अवधिमा बीमा कम्पनीहरुले ३८ अर्ब १ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । अघिल्लो आवको सोही अवधिको तुलनामा चालु आवमा बीमा कम्पनीहरुको व्यापार १६.४९ प्रतिशतले बढेको हो ।
तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको भदौसम्म ३५ अर्ब ९९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा १९.३४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष भदौसम्ममा जीवन बीमा कम्पनीहरुले ३० अर्ब १५ करोड ७८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।
चालु आर्थिक वर्षको भदौसम्म जीवन कम्पनीहरुले ७ अर्ब २६ करोड ९६ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र २८ अर्ब ७२ करोड ४ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो वर्ष भदौसम्म कम्पनीहरुले ५ अर्ब ६८ करोड ९४ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र २४ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका थिए ।
समीक्षा अवधिसम्म जीवन बीमा कम्पनीहरुको सक्रिय बीमालेख संख्या १ करोड ५९ लाख ३६ हजार ७७१ वटा रहेको छ । अघिल्लो वर्ष भदौसम्म सक्रिय बीमालेख संख्या १ करोड ३७ लाख ८४ हजार ८८ वटा थियो । सक्रिय बीमालेख संख्या १५.६२ प्रतिशतले बढेको हो
