फूलखेतीमा आत्मनिर्भरता नजिक नेपाल, तिहारमा २१ लाख मालाको आवश्यक

फूलखेतीमा आत्मनिर्भरता नजिक नेपाल, तिहारमा २१ लाख मालाको आवश्यक
  • ५ कार्तिक २०८२, मंगलवार १५:२१

काठमाडौं– नेपाल फूल तथा पुष्पजन्य वस्तुमा आत्मनिर्भरता नजिकै पुगेको छ । वार्षिक रूपमा फूलको माग र बजार करिब १२ देखि १५ प्रतिशतका दरले बढ्दै गएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

mulpatra

नेपाल फूलमा ९२ प्रतिशत आत्मनिर्भर भएको छ । आगामी तीन वर्षभित्र नेपाललाई फूल तथा पुष्पजन्य वस्तुमा आत्मनिर्भर बनाउने योजना रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता जानुका पण्डितले बताइन् । नेपालमा वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढीको फूल कारोबार हुने गरेको उनले जानकारी दिइन् ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा २० करोड तथा २०७६÷७७ मा २० करोड बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएको थियो। आर्थिक वर्ष २०७७÷७८ मा आठ करोड १३ हजार रुपैयाँ बराबरको फूल तथा पुष्पजन्य वस्तु आयात भएको थियो। आर्थिक वर्ष २०७८÷७९ मा आड करोड दुई लाखको माला आयात भएको थियो। आर्थिक वर्ष २०७९÷८० मा नौ करोड रुपैयाँमा चार लाखमा माला आयात भएको विभागको तथ्यांक छ । चालु आर्थिक तीन महिनामा पाँच करोड रुपैयाँको माला आयात भएको छ ।

नेपालमा फूल तथा पुष्पजन्य वस्तु उत्पादन बढ्दो छ। ग्रामीण भेगमा उत्पादित फूल बजारसम्म नआउने भएकाले केही फूल आयात गर्नुपरेको पुष्प व्यवसायी बताउँछन्। भन्सार विभागकै तथ्यांकलाई आधार मान्ने हो भने पनि फूल आयात केही घटेको देखिन्छ।

केही वर्षयता सरकारले पुष्प व्यवसायीलाई सहजीकरण गर्दै आएको उनको भनाइ छ । व्यवसायी भने फूल उत्पादन र बजारीकरणमा सरकारले सहयोग नगरेको गुनासो गर्छन् ।

नेपालमा मौसमी, बहुवर्षे, आलंकारिक, कट फ्लावर र लुज फ्लावर गरी पाँच प्रकारका फूल उत्पादन हुने गरेको व्यवसायी बताउँछन्। यस्तै नेपालमा एक सय ६० प्रजातिका फूल पाइन्छ। तीमध्ये ४२ प्रकारका फूल व्यावसायिक रूपमा उत्पादन भइरहेका छन् ।

फूलखेतीमा ४५ हजार किसान

नेपालमा सन् १९५० बाट सुरु भएको पुष्प व्यावसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदो छ। फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रे, गुल्मी, पाल्पा, धादिङ, चितवन र मोरङलगायत ४८ जिल्लामा लगभग सात सय ५५ वटा पुष्प फर्म तथा नर्सरी विस्तार भइसकेको फ्यानको तथ्यांक छ ।

फ्यानका अनुसार पुष्प व्यवसायमा करिब ६० हजारले प्रत्यक्ष रोजगारी पाएका छन्। व्यवसायीहरू नेपालमा एक सय ७५ हेक्टर जमिनमा फूल उत्पादन हुने गरेको बताउँछन्। सरकारी तथ्यांक भने भिन्न छ। कृषि मन्त्रालयका अनुसार लगभग १४७ हेक्टर क्षेत्रफलमा ६ सय प्रजातिका फूल उत्पादन हुँदै आएको छ। पुष्प व्यवसायमा करिब ४५ हजार किसान र उद्यमी आबद्ध रहेको कृषि मन्त्रालयले जनाएको छ।

नर्सरी व्यवसायी संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाका अनुसार फूल तथा पुष्प व्यवयायी क्षेत्रमा करिब साढे सात अर्ब रुपैयाँ लगानी छ। नेपालका ४३ वटा जिल्लामा व्यावसायिक रूपमा फूलखेती हुँदै आएको उनले बताए। वार्षिक रूपमा करिब साढे तीन अर्बको फूलको खपत हुने गरेकामा तिहारमा मात्र नौ करोड रुपैयाँको फूल खपत हुँदै आएको उनले जानकारी दिए।

तिहारमा २१ लाख मालाको आवश्यक

यस वर्षको तिहारमा करिब २१ लाखवटा माला खपत हुने आकलन गरिएको फ्यानका अध्यक्ष तामाङ बताउँछन्। तिहारमा साढे १७ लाखभन्दा बढी सयपत्रीको माला तथा चार लाखभन्दा बढी गोदावरी र मखमलीको माला खपत हुने अनुमान छ। दसैँमा नौ लाखभन्दा बढी माला खपत भएको थियो।

पछिल्लो समय स्वदेशी फूल र पुष्पजन्य वस्तुले नेपालको बजार धान्न थालेको उनले बताए। ‘नेपालमा पनि व्यावसायिक रूपमा फूल तथा पुष्प व्यवसाय फस्टाइरहेको छ। तिहारमा सम्भव भएसम्म नेपालमै उत्पादित फूलको मालाले पुग्नेछ। करिब १० प्रतिशत माला भने भारतबाट आयात होला भन्ने हाम्रो अनुमान हो’, तामाङले भने, ‘नेपालमा फूल तथा पुष्प व्यवसायमा ९२ प्रतिशत आत्मनिर्भर भइसकेको छ। सरकारले व्यवसाय प्रवर्धनमा सहयोग गरे चाँडै फूल तथा पुष्पजन्य वस्तु निर्यातसमेत हुन्छ।’ नेपालमा फूलमा आत्मनिर्भर छ भन्न सरकारसँग क्षमता नभएको उनको आरोप छ।

नेपालमा वार्षिक ५० देखि ६० लाख वटा फूलको माला उत्पादन भएर बजारसम्म पुग्ने गरेको फ्यानको अनुमान छ। यो ग्रामीण भेगभन्दा बाहिरको तथ्यांक हो। ग्रामीण भेगमा उत्पादन हुने फूलका १० लाख वटा माला बजारमा नआउने तामाङ बताउँछन्।

७० लाखको माला आयात

तिहारमा सयपत्री फूलको करिब तीन लाखवटा माला भारतलायत अन्य देशबाट आयात हुने तामाङ बताउँछन्। सरकारी तथ्यांकमा भने तिहारमा भारतलायत अन्य देशबाट करिब पाँच लाखवटा माला आयात हुँदै आएको छ।

भारतसहित चीन, अमेरिका, ब्राजिल, अस्ट्रेलियालगायतका देशबाट फूल तथा पुष्पजन्य वस्तु आयात हुने गरेको छ।

यस वर्ष तिहारमा भारतबाट ५० लाख रुपैयाँ बराबरको दुई लाख सयपत्री फूलको माला आउने फ्यानको अनुमान छ। यस्तै अन्य देशबाट २० लाख रुपैयाँको माला आयात हुने तामाङ बताउँछन्।

अस्ट्रेलिया र मलेसियामा नेपालीको उल्लेख्य बसोबास भएकाले तिहारको समयमा ती देशमा मखमली फूल निर्यातसमेत हुने गरेको छ। प्रणय दिवसमा रातो गुलाब र तिहारमा सयपत्री फूल आयात गर्नु परे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको छ। हाल स्वदेशमा ९२ प्रतिशत फूल उत्पादन हुने गरेको र बाँकी १० प्रतिशत मात्र विदेशबाट आयात गर्नुपरेको छ।

सरकारले ग्रामीण भेगका फूल बजारमा ल्याउन सके अहिले पनि फूलमा नेपाल निर्भर भइसकेको व्यवसायीको दाबी छ। उनीहरूका अनुसार तिहारको समयमा एकैपटक फूलको माग बढ्ने भएकाले स्वदेशी उत्पादनले थोरै मात्रै अपुग हुने हुँदा थप माला आयात भइरहेको हो। काठमाडौँ उपत्यकामा खपत हुने ८० प्रतिशत सयपत्री नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, मकवानपुरलगायतका जिल्लामा उत्पादन हुने गरेको छ।