Close

Recent Posts

दुर्गा प्रसाईंले सम्पादकसँग मागे राय– मेरो कारणले देश बिग्रिएको हो भने म देश छोड्न तयार छु

दुर्गा प्रसाईंले सम्पादकसँग मागे राय– मेरो कारणले देश बिग्रिएको हो भने म देश छोड्न तयार छु
  • १० कार्तिक २०८२, आईतवार १२:४८

काठमाडौं– ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत् राजसंस्था पुनस्र्थापनाको पक्षमा उभिएका दुर्गा प्रसाईंले आफू देशका लागि सुध्रिन तयार भएको जानकारी गराएका छन् ।

mulpatra

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले भने, ‘तपाईंहरुले भन्नुहुन्छ, दुर्गा तँ देश छोडेर जा, तेरो कारणले यो सबै बिग्रियो भन्नुहुन्छ भने पनि म रेडी, म जान तयार । म जान्छु । मलाई लोभ छैन । मलाई केही चाहिँदैन ।’

देश छोडेर जान भनियो भने पनि त्यसका लागि तयार भएको उनले बताए । आफू ‘रेण्डम टाइपको मान्छे’ भएको भन्दै उनले आफ्नोबारे मूलधारका मिडियाले कहिल्यै राम्रो नलेखेको गुनासो गरे । ‘जानेर यहाँ आएँ, नजानेर यहाँ आएँ । तपाईंहरुले गाली गर्दैगर्दा पनि यहाँ आएँ,’ सम्पादकहरु समेत सहभागी कार्यक्रममा प्रसाईंले भने, ‘तपाईंहरुसँग लडेर आएको हो नि त । मेन स्ट्रिमको मिडियाले त मलाई कहिल्यै राम्रो लेखेन नि, कहिल्यै लेखेन जीवनमा । मेरो नराम्रो लेख्यो, राम्रो कहिल्यै लेखेन ।’ उनले भने ।

आफू २०५७ सालदेखि नेकपा माओवादी हुँदै एमाले र अहिले यहाँसम्म आइपुगेको चर्चा गर्दै उनले जानेर नजानेर जेजे गरे पनि अब सुध्रिएर देश बनाउन लाग्नुपर्ने बताए । ‘ल हिजो जे भयो–भयो, आफैंले बाटो बिर्सियौं । सबैले भुल्यौं । अब त कमसेकम देश जोगाउने, त्यो भुंग्रोमा गएको छ नि नेपाल, त्यसलाई उठाएर कमसेकम न्यानो ठाउँमा लैजाऔं,’ उनले भने, ‘मान्छेले न्यानोपन खोजेको छ । अब यसमा सुध्रिन पर्नेछ ।’

अहिले उनले कात्तिक १५ पछि पुनः प्रदर्शन गर्ने घोषणा गरेका छन् । तर गृह मन्त्रालयले प्रदर्शन नगर्न आह्वान गर्दै दुर्गा प्रसाईंलाई वार्तामा बोलाएको छ । गृह मन्त्रालयले वार्तामा बोलाएको भोलिपल्ट पत्रकार भेटघाट गर्दै प्रसाईंले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट प्रसाईंले वार्तामा बोलाएर जनताको आवाज सुन्ने प्रयास गरेको भन्दै सरकारी कदमको स्वागत गरे ।