खराब परिस्थितिसँग जुध्न योजना कोर्न थाले बैंक

खराब परिस्थितिसँग जुध्न योजना कोर्न थाले बैंक
  • १९ कार्तिक २०८२, मंगलवार २०:५९

काठमाडौँ– जेनजी आन्दोलनका नाममा ठूला व्यावसायिक सम्पत्तीहरुमाथि आक्रमण भएपछि घरेलु अर्थतन्त्र सुध्रने छाँटकाँट नदेखिएको केही बैंकरहरुले बताएका छन् ।

mulpatra

बैंकरले अर्थतन्त्रको हालत असाध्यै खराब भएको अवस्थामा कसरी वित्तीय स्वास्थ्यलाई धानेर राख्ने भन्ने योजनामा काम गरिरहेको बताएका छन् । यसका लागि कर्मचारी कटौति, शाखा कटौतिदेखि नगद प्रवाहको व्यवस्थापन र धितो विक्रीको व्यवस्था, ऋणीको छनोट जस्ता थुप्रै काम गरेर संस्थालाई जोगाउने विकल्पहरुले भरिएको योजना तयार भइरहेको पाइएको छ ।

यसले गर्दा बैंकमा थुप्रिएको अधिक तरलताको उपयोग पनि नहुने र पुरानो ऋण पनि नउठ्ने अवस्था आएको भनेर बैंकर चिन्तित देखिएका छन् । यस्तो अवस्थामा बैंकको वित्तीय स्वास्थ्यलाई चुस्त राख्ने कोसिस गरिरहेको उनीहरुले बताए ।

व्यावसायिक जगतमा नयाँ परियोजना विस्तार गर्ने योजनाहरु त ठप्प भएका छन् नै, पुराना व्यवसाय पनि विस्तारै घटाउने रणनीतिमा धेरै लगानीकर्ता देखिएको बैंकको भनाइ छ ।

अर्थतन्त्र डामाडोल हुँदा पनि आफू कसरी बाँच्न सकिन्छ भनेर भिन्न भिन्न बैंकरले आफ्नै तरिकाका योजनाहरु बनाउन थालेको बैंकरले बताए । सबै बैंकको लगानी ढाँचा र ऋणको गुणस्तर भिन्न भएका कारण सबैले आफूलाई सर्वाधिक लाभ हुने गरी योजना बनाइरहेको बैंकर बताउँछन् ।

लुटिएका हातहतियार र भागेका कैदीबन्दीले पनि मानिसहरुलाई त्रसित पारिरहेको उनीहरुको भनाइ छ । राजधानीमै भएका ठूला व्यावसायिक प्रतिष्ठानहरुको सुरक्षा गर्न सरकार र सुरक्षा निकायहरु असमर्थ भएपछि मानिसहरुले अब आफ्नो निजी जोखिम लिएर उद्यम तथा व्यापारमा पैसा लगानी नगर्ने अवस्था आएको उनीहरु बताउँछन् ।