Close

Recent Posts

५ लाख मेट्रिक टन धान उत्पादन घट्न सरकारकै अनुमान

५ लाख मेट्रिक टन धान उत्पादन घट्न सरकारकै अनुमान
  • २२ कार्तिक २०८२, शुक्रबार १९:३१

काठमाडौँ– वर्षातको फेरिएको प्रबृत्तिका कारण यो साल अघिल्ला वर्षको भन्दा कम्तिमा ५ लाख मेट्रिक टन कम.मात्रै धान उत्पादन हुने अनुमान सरकारी अधिकारीहरुले गरेका छन् ।

mulpatra

तराई क्षेत्रमा निकै ढिला गरी मनसुन (बर्खा) सुरु भएका कारण पोहोर खेति भएकोमध्ये २७ हजार हेक्टर जमीन यसपालि बाँझै बसेको सरकारी आँकडा छ ।

मधेश प्रदेशमा मात्रै पोहोर खेति भएमध्ये १० प्रतिशत भूमि यसपल्ट बाँझै बसेको कृषि तथापशुपंक्षी मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

mulpatra mulpatra mulpatra

बर्खा सकिएपछि पनि दशैँका बेला असोज तेस्रो हप्ताको वर्षाले कोशी प्रदेशमा ५६ हजार मेट्रिक टन बराबरको धान बालीमा क्षति भएको विवरण सरकारले सङ्कलन गरेको छ। त्यतिबेला धानसहित सबैखाले बाली, चौपाया र कृषि पूर्वाधारसहित ३ अर्ब ५५ करोड रुपैयाँ बराबरको क्षतिको रूपमा अधिकारीहरूले मूल्याङ्कन गरिएको छ ।

नेपालमा पोहोर साल करिव ५९ लाख टन धान फलेको थियो । त्यसमध्ये करिब ६ लाख टन जति चैते धान फलेको सरकारी आँकडा छ । पोहोर धानबालीको राष्ट्रिय उत्पादकत्व ३.८ टन प्रतिहेक्टर थियो। यस वर्ष उक्त उत्पादकत्वको दर पनि खुम्चिनसक्ने अड्कलबाजी भएको छ ।

यसरी एकातिर धानको उत्पादन घटिरहेका बेला यसको मूल्य पनि उत्तिकै सस्तिएको छ । पोहोर साल औसत ४० रुपैयाँ पुगेको एक किलोग्राम धानको मूल्य यस वर्ष ३० रुपैयाँभन्दा तल झरेको छ । त्यसो त, यसअघि तत्कालिन अर्थमन्त्री डा. प्रकाशशरण महतले धानको आयातमा मूल्य अभिबृद्धि कर (भ्याट) लगाइदिएपछि स्थानीय किसानले पनि धान बेच्दा ज्यादा भाउ पाएका थिए । पछिको सरकारले उक्त भ्याट हटाएर धान आयातलाई सजिलो पारेपछि किसानले पाउने मूल्य खस्किएको हो ।

Image Source: © https://mulpatra.com

अहिले धान सस्तो भए पनि कतिपय विज्ञहरुले भने हिउँद सकिँदै जाँदा चामलको मूल्यमा बढोत्तरी हुने संभावना पनि दर्शाएका छन् । धान भित्र्याउने बेलामा आएको वर्षाले काटेको धान पनि भिजाइदिएको छ । यसले पनि गुणस्तरीय चामलको उत्पादन अझ घट्ने देखिएको छ ।

तर नेपाल अहिलेकै अवस्थामा खाद्यान्न अभाव वा चरम महँगीको हालतमा पुग्दैन । किनकी, हामीसँग भारतको विशाल उत्पादन पनि छ ।

भारत विश्वकै अग्रणी चामल निर्यातकर्ता मुलुक हो। चामलको विश्वव्यापी व्यापारमा भारत एक्लैले ४० प्रतिशत हिस्सा ओगट्छ। त्यस्तो देशसँग नेपालको स्थिर विनिमयदर र खुल्ला सीमा भएका कारण नेपालमा चामलको भाउ अचाक्लि महँगिने संभावना हुँदैन ।

त्यसो त, नेपालले भारतबाहेक पनि चीन, भियतनाम, अमेरिका, दक्षिण कोरिया, थाइल्यान्डसहितका मुलुकबाट चामल आयात गर्ने गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ।