म्यानपावर क्षेत्रमा छुटै पहिचान बनाइरहेको एकता समिति पुनर्निर्माण गरेको भवन प्रहरीलाई हस्तान्तरण
काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी सामाखुसी एकता समितिले पुनर्निर्माण गरेको प्रहरी प्रभाग नयाँ बसपार्कको भवन नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ । समितिले बनाएको दुईतले भवनमा ६४ जना सुरक्षाकर्मीका लागि आवास सुविधाको व्यवस्था छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की र समिति अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीले नवनिर्मित भवनको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरी प्रभाग नयाँ बसपार्कमा आगजनी भएको थियो । एकता समितिको आर्थिक सहयोग तथा पहलमा पुनर्निर्माण गरिएको भवन शुक्रबार एक कार्यक्रममार्फत समितिले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।
जेनजी आन्दोलनका मुख्य उद्देश्य सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणसँग सम्बन्धित रहेको उल्लेख गर्दै त्यस्ता चाहनाहरू पूरा गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको कार्कीले उद्घाटन कार्यक्रममा बताएका थिए ।।
जेनजी आन्दोलनका क्रममा उपत्यकाभित्रका १९३ प्रहरी कार्यालय क्षतिग्रस्त भएका थिए । तीमध्ये हालसम्म १८० भवन नागरिकको सक्रियतामा पुनर्निर्माण भइसकेका छन् भने बाँकी १३ भवन पुनर्निर्माणपछि पनि प्रयोगयोग्य नभएकाले नयाँ निर्माण गर्नुपर्ने अवस्था आएको छ ।
समितिका अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीले शान्ति–सुरक्षाबिना व्यवसाय सञ्चालन गर्न समस्या हुने र म्यानपावर व्यवसायी अहिलेको समस्यामा गम्भीर भएको बताएका थिए । उनले व्यवसाय र नागरिकको सुरक्षित जीवन असम्भव हुने भएकाले सो क्षेत्रमा रहेका २३९ वटा वैदेशिक रोजगार व्यवसायीका तर्फबाट आर्थिक संकलन गरी प्रहरीका लागि आवश्यक आवास भवन निर्माण गरि जिम्मा लगाएको जानकारी दिए ।
प्रहरी चौकी निर्माण भएपछि यहाँको शान्ति–सुरक्षामा थप सहज हुने उनको भनाइ छ ।
