डेढ महिनापछि काममा फर्किए धितोपत्र बोर्डका आन्दोलनरत कर्मचारी

डेढ महिनापछि काममा फर्किए धितोपत्र बोर्डका आन्दोलनरत कर्मचारी
  • २५ कार्तिक २०८२, सोमबार ११:५८

काठमाडौं– डेढ महिनादेखि कर्मचारी आन्दोलनका कारण ठप्प रहेको नेपाल धितोपत्र बोर्डको काम आजदेखि नियमित रूपमा सञ्चालनमा आएको छ । आइतबार मन्त्रालयले पठाएको पत्रको अध्ययन गर्न समिति गठन गर्ने निर्णयसँगै बोर्ड र कर्मचारीबीच सहमति बनेको थियो । त्यसपछि बोर्डका कर्मचारी काममा फर्किएका हुन् ।

mulpatra

बोर्डका सबै कर्मचारी आजदेखि नियमित रूपमा कार्यस्थलमा हाजिर भएको नेपाल धितोपत्र कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले बताएका छन् । एक साताभित्र सहमति कार्यान्वयन नभए आन्दोलन पुनः सुरु हुन सक्ने चेतावनी उनले दिए ।

अर्थ मन्त्रालयले कर्मचारीको सेवा सुविधा कटौती हुनेगरी पठाएको पत्र पठाएपछि आन्दोलनमा उत्रिएका कर्मचारीहरूको माग पूरा गर्नेगरी सहमति भएसँगै उक्त बोर्डको नियमित कामकारबाही सुचारु भएको हो ।

कामकाज पुनः सुरु भएपछि रोकिएका सेयर निष्कासन अनुमति र अन्य प्रशासनिक कार्य पनि अगाडि बढ्न थालेका छन् । हाल बोर्डमा ७४ वटा कम्पनीका ५४ अर्ब १५ करोड रुपैयाँभन्दा बढीका आईपीओ, झन्डै पौने ६ अर्बको हकप्रद सेयर, र २३ करोड रुपैयाँको एफपीओ पाइलाइनमा रहेका छन् ।

आन्दोलनका क्रममा कर्मचारीहरूले बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा मागेका थिए, तर हालका लागि सो मागलाई स्थगित गरिएको छ ।