‘छापामार शैलीमा मुख्यमन्त्री नियुक्ति गरियो, ७४ सांसदको हस्ताक्षर लिएर सर्वोच्च जान्छौँ’
काठमाडौं– नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्ण यादवले मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालत जाने बताएका छन् ।

सोमबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्तिको माग गर्ने बताए ।
एमाले संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख सुमित्र सुवेदी भण्डारीले आज बिहान संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्ति गरेकी थिइन् । उनको शपथ महोत्तरीको एक होटलमा भएको थियो । सो को विरोधमा नेपाली कांग्रेस रहेको छ ।
‘संविधानको धारा १६८ (२) मा आह्वान गर्नको लागि सर्वोच्च अदालत जान्छौँ । ७४ जना सांसदको हस्ताक्षर लिएर जान्छौँ । गैरकानुनी नियुक्ति छ । मुख्यालयमा नगरेर सीमानामा गएर छापामारशैलीमा नियुक्ति गरिएको छ । हास्यास्पद कुरा भयो,’ उनले भने, ‘संघीयता दिने कुठाराघात भएको छ । प्रदेश प्रमुखले संविधानमाथि प्रहार गरेको छ ।’
