Close

Recent Posts

यस वर्षको वर्षामा ६ हजार परिवार विस्थापित, १४० जनाले गुमाए ज्यान

यस वर्षको वर्षामा ६ हजार परिवार विस्थापित, १४० जनाले गुमाए ज्यान
  • २६ कार्तिक २०८२, मंगलवार १९:५१

काठमाडौँ– यस वर्षको मनसुनी विपद्का घटनामा १४० जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत जेठ १५ देखि असोज १४ सम्म सो बराबरको मानवीय क्षति भएको हो ।

mulpatra

प्राधिकरणको ‘मनसुन २०८२’ अनुसार बाढी, पहिरो, भारी वर्षा र चट्याङजस्ता घटनाबाट मात्र १४० जनाको मृत्यु भएको र ३०० जना घाइते भएका छन्।

यो अवधिमा मनसुनजन्य प्रभाव परेको आशङ्का गरिएकामध्ये ३० जना बेपत्ता भएका छन् । यस्तै, मनसुनजन्य विपद्का कारण देशभर ५ हजार ९ सय ९५ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

mulpatra mulpatra mulpatra

यस वर्षको मनसुनी तथ्याङ्क हेर्दा पहिरोका घटना सबैभन्दा घातक देखिएका छन् । देशभर ४९३ वटा पहिरोका घटना दर्ता भएकामा ६७ जनाको मृत्यु भएको छ भने ७७ जना घाइते भएका छन् । पहिरोमा परी ४ जना बेपत्ता भएका छन्, जसबाट १ हजार ५१८ परिवार प्रभावित भएका छन्।

यसैगरी, बाढीका २१२ घटनाका कारण ३७ जनाको मृत्यु भएको छ, जबकि २६ जना बेपत्ता भएका छन्। बाढीबाट ३ हजार २०० परिवार प्रभावित भएका छन्।

चट्याङका २४२ घटनामा २९ जनाले ज्यान गुमाएका छन्। भारी वर्षाका ३७७ घटनाका कारण ७ जनाको मृत्यु भएको र २० जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ।

Image Source: © https://mulpatra.com

यस वर्ष मनसुनजन्य विपद्का घटनामा गत वर्ष २०८१ को तुलनामा उल्लेखनीय कमी आएको छ। मनसुन २०८१ मा देशभर २ हजार १३९ वटा विपद्का घटना भएका थिए, जसबाट ४५५ जनाको मृत्यु भएको थियो भने ६६ जना बेपत्ता भएका थिए । सो वर्ष कुल १० हजार ८ सय २३ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

तुलनात्मक रूपमा हेर्दा २०८२ मा घटनाको सङ्ख्या घटेर १ हजार ४५४ मा झरेको छ। मृत्यु हुनेको सङ्ख्या पनि ४५५ बाट १४० मा सीमित भएको छ।

मनसुनजन्य घटनाबाहेक आगलागी, सर्प दंश, जनावर आक्रमण र हावाहुरीजस्ता अन्य विपद्का घटनामा पनि ठुलो मानवीय क्षति भएको छ।

२०८२ मनसुन अवधिमा मनसुनबाहेक अन्य विपद्का १ हजार ६७६ घटनाहरू भएका थिए । जसबाट १२० जनाको मृत्यु भएको छ र ६२२ जना घाइते भएका छन् । यी घटनाबाट २ हजार ३० परिवार प्रभावित बनेका छन्।

अन्य विपद्हरूमध्ये सर्पदंश सबैभन्दा धेरै घातक देखिन्छ। सर्पदंशका ४४२ घटनामा ७४ जनाको मृत्यु भएको छ भने ३७४ जना घाइते भएका छन्। यसैगरी, जनावर आक्रमणबाट २२ जना, आगलागीबाट ११ जना र लेक लाग्नुका कारण १३ जनाको मृत्यु भएको प्राधिकरणको तथ्याङ्क छ ।