बैंकमा पैसा थुप्रियो, तरलता व्यवस्थापनमा खर्चियो ९ अर्ब

बैंकमा पैसा थुप्रियो, तरलता व्यवस्थापनमा खर्चियो ९ अर्ब
  • २ मंसिर २०८२, सोमबार २०:५२

काठमाडौं– नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ८० अर्ब ४८ करोड रुपैयाँ खुद आम्दानी गरेको छ । नेपाल राष्ट्र बैंकको गत आर्थिक वर्षको कमाइ अघिल्लो आर्थिक वर्षको तुलनामा ९.११ प्रतिशतले धेरै हो ।

mulpatra

राष्ट्र बैंकले विदेशी मुद्रा लगानीमार्फत आम्दानी गर्छ । विदेशी मुद्रालाई नेपालभन्दा बाहिर सरकार तथा अरु केन्द्रीय बैंकका वित्तीय औजारहरूमा लगानी गर्छ । पछिल्ला वर्ष अधिक तरलताका कारण राष्ट्र बैंकले ठूलै रकम खर्च गरेर तरलता व्यवस्थापन गर्दै आएको छ ।

बैंकमा विदेशी विनिमय सञ्चितिमा ऐतिहासिक सुधार आएसँगै खुद आय पनि बढेको हो । चालु आर्थिक वर्षको असोजसम्मको तथ्याङ्कअनुसार कुल विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब रुपैयाँ बराबर पुगेको छ ।

पछिल्लो समय रेमिट्यान्समा आएको उच्च वृद्धि तथा आन्तरिक अर्थतन्त्र सुस्त हुँदा केन्द्रीय बैंकमा विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च रहँदै आएको छ । विदेशी विनिमय सञ्चितिको अवस्थाले राष्ट्र बैंकको आम्दानीलाई प्रभावित बनाउँछ ।

केन्द्रीय बैंकले सरकारलाई उपलब्ध गराउने उक्त रकम अघिल्लो आवको तुलनामा ५ अर्बले धेरै हो । आर्थिक २०८०÷८१ मा बैंकले ३७ अर्ब २२ करोड रुपैयाँ सरकारलाई उपलब्ध गराएको थियो ।

२०८२ असार मसान्तसम्मको वित्तीय स्थितिको विवरणअनुसार बैंकको सम्पत्ति तथा दायित्व २०८१ असार मसान्तको तुलनामा २९.२३ प्रतिशतले वृद्धि भई २६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख ४० हजार पुगेको छ ।

गत वर्ष करिब ९ अर्ब रुपैयाँ तरलता व्यवस्थापनका लागि खर्चेको बैंकले जनाएको छ । चालु आर्थिक वर्षमा तरलता व्यवस्थापनका लागि गरिने खर्च गत आवको भन्दा धेरै हुने अनुमान छ ।

तीन वटा खण्डमा विभाजित उक्त प्रतिवेदनको पहिलो खण्डमा आर्थिक वर्ष २०८१÷८२ को समष्टिगत आर्थिक तथा वित्तीय स्थितिलाई समेटिएको छ । दोस्रो खण्डमा बैंकका कामकारबाहीको विवरण र तेस्रो खण्डमा बैंकको गत आर्थिक वर्षको वित्तीय विवरणलाई प्रस्तुत गरिएको छ ।