बचत तथा ऋण सहकारीलाई सहुलियत, अब आधामात्रै प्रोभिजन गरे पुग्ने
काठमाडौं– बचत तथा ऋण सहकारी संस्थाले गैरबैंकिङ सम्पत्तिमा राख्नुपर्ने प्रोभिजन आधामात्रै राख्दा हुने गरी नियामकले निर्देशन दिएको छ । अब यस्तो सम्पत्तीमा ५० प्रतिशत मात्रै नोक्सानी व्यवस्था गरे पुग्ने भएको छ ।

राष्ट्रिय सहकारी प्राधिकरणले नियामकीय मापदण्ड संशोधन गर्दै १०० प्रतिशतलाई ५० प्रतिशतमा झारेको हो । तर कुनै संस्थाले शतप्रतिशत नै प्रोभिजन राख्न चाहेमा वा ५० देखि १०० प्रतिशतको बीचमा कुनै अंकमा प्रोभिजन राख्दा पनि हुने गरी नियम संशोधन भएको हो ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड २०८२ संशोधन गर्दै प्राधिकरणले यस्तो प्रबन्ध गरेको हो ।
![]() |
![]() |
![]() |
|---|
तर यो व्यवस्था २०८२ असार मसान्तभन्दा अगाडिनै सकार गरिसकेको धितोको हकमा मात्र लागू हुने प्राधिकरणले जनाएको छ । त्यस्तै, गैर बैंकिङ सम्पत्ति सकार गर्दा त्यस्ता सम्पत्तिको पुनः मूल्यांकन गर्नुपर्नेछ, यसरी गरिने मूल्यांकन फरक मुल्यांकनकर्ताद्वारा गराउनुपर्ने व्यवस्था पनि गरिएको छ ।
गैर बैंकिङ सम्पत्तिको ५० प्रतिशत नोक्सानी व्यवस्था कायम गर्न सक्ने यो व्यवस्था हालका लागि २०८३ असार मसान्तसम्म मात्रै कायम हुने छ ।
धितो सकारेका सहकारी संस्थाहरुलाई पनि लाभांश बाँड्न भने अब समस्या हुने भएको छ । ‘धितो सकार गरी शतप्रतिशत नोक्सानी व्यवस्था नगर्ने सहकारी संस्थाले कर्जाको शत प्रतिशत कर्जा नोक्सानी ब्यबस्था नगरेसम्म नाफाबाट कुनै किसिमको लाभांश तथा बोनस बितरण गर्न पाउने छैन’, संशोधित व्यवस्थामा भनिएको छ ।
Image Source: © https://mulpatra.com
यसबाहेक एक करोडभन्दा बढी रकमको गैर बैंकिङ सम्पत्ति रहेका सहकारी संस्थाको हकमा गैरबैंकिङ सम्पत्तिको बिक्री गर्ने सम्बन्धी समय तालिका सहितको कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गर्नुपर्ने र त्यो कार्ययोजना वाह्य लेखापरीक्षकबाट समेत प्रमाणित गराएर मात्रै प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था थप गरिएको छ ।
यस्ता व्यवस्थाले सहकारी संस्थाहरुलाई प्रशासनिक कार्यबोझ भने थप्ने भएको छ ।



