आर्थिक तरलता व्यवस्थापन हुन नसक्नु नै अहिलेको अर्थतन्त्रको प्रमुख समस्या भएको गर्भनरको टिप्पणी
काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले तरलता व्यवस्थापन हुन नसक्नु नै अहिलेको अर्थतन्त्रको प्रमुख समस्या रहेको बताएका छन् ।

सेजन (नेपाल आर्थिक पत्रकार समाज) को २९ औं वार्षिक साधारण सभामा बोल्दै उनले तरलता व्यवस्थापन नहुँदा यसको साइड इफेक्टहरू एकपछि अर्को देखिएको उल्लेख गरे। तरलता व्यवस्थापनकै समस्याले बैंकहरूको नाफमा असर परेको र यसै कारकका रुपमा कर्जा प्रवाहमा पनि समस्या देखिएको र आर्थिक गतिविधी बढ्न नसकेको उनको भनाइ छ ।
यस्तै गभर्नर पौडेलले मौद्रिक नीतिबाट ल्याइने नीतिगत प्रावधानहरू बैंक तथा वित्तीय संस्थाले पर्याप्तरूपमा कार्यान्वयन नगरेको टिप्पणी गरे। उनले भने, ‘बैंकको फाइनान्सियल प्रोडक्टहरू मौद्रिक नीतिसँग कन्सिस्टेन्ट भएर आएका छैनन्।’
मौद्रिक नीतिको ट्रान्समिसन अपेक्षित रूपमा हुन नसकेको भन्दै उनले बैदेशिक रोजगारी कर्जा कार्यक्रमअन्तर्गत ३ देखि ५ लाख रुपैयाँसम्म कर्जा प्रदान गर्ने व्यवस्था राखिए पनि, नयाँ ग्राहक आकर्षित हुन नसकेको बताए।
उक्त कार्यक्रममार्फत १८–१९ जना मात्रै नयाँ क्लाइन्ट देखिनुले मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयन हुन नसकेको स्पष्ट पारेको बताएका हुन् ।
बैंकका वित्तीय उत्पादनहरू मौद्रिक नीतिसँग सुसंगत भएर नआएको उनको गुनासो छ । उनले भने ‘किसान, फर्मुलेटर, एग्रो–फार्मरदेखि लिएर पर्यटन क्षेत्रका व्यवसायीहरु ल्गायत धेरैले बैंकहरुको लोन प्रोडक्टको डिजाइन आफ्नो आवश्यकता अनुरुप नआएको गुनासो गरिरहेका छन्।’
गभर्नरले बैंकका सिइओ तथा प्रबन्धकहरूलाई स्थानीय व्यवसायी, किसान र उद्यमीहरूसँग एकदमै नजिक भएर काम गरेर मात्रै फाइनान्सियल प्रोडक्ट लिएर आउन आग्रह गरे ।
उनले भने, ‘ट्रान्समिसनको कडी कतै टुटेको छ। स्थानीय तहका आवश्यकताअनुसार उत्पाद विकास भएन भने मौद्रिक नीतिको प्रभाव पनि सीमित हुन्छ।’
यस्तै गर्भनर पौडेलले आज सार्वजनिक भएको मौद्रिक नीतिमा पूर्ण इक्विटी लिमिट बढाइएकोले कृषक, पर्यटन व्यवसायी वा अन्य क्षेत्रमा काम गर्नेहरूले भोग्दै आएको अप्ठ्यारोलाई यसले केही सहज पार्ने विश्वास व्यक्त गरे ।
पौडेलले बैंकहरूलाई लोन अघि बढाउन, मौद्रिक नीतिलाई प्रभावकारी बनाउन र वास्तविक क्षेत्रसँग जोडिएको वित्तीय सेवा विकास गर्न थप सक्रिय हुन समेत आग्रह गरे।
