गभर्नर पौडेलको चेतावनी– कोल्याटर बेचेर फाइदा लिने काम भ्रष्टाचार हो, राष्ट्र बैंकले छोड्दैन
काठमाडौं– गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले अर्काको कोल्याटर बेचेर आफूलाई फाइदा हुने काम गर्नु भनेको ‘पार्ट अफ करप्सन’ भएको बताएका छन् । यसलाई राष्ट्र बैंकले नसहने चेतावनी पनि उनले दिएका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा गभर्नर पौडेलले यस्ता गतिविधिलाई कठोर रूपमा लिने बताएका हुन् ।
‘सरकारी बैंकहरूबाट यो मिलाइदिन्छु भनेर पैसा माग्यो भने सरकारले रिस्क लिन्छ । तर निजी बैंकहरूबाट त्यस्तो भएमा हामी गम्भीर रूपमा लिनेछौँ’, गभर्नर पौडेलले भने, ‘कुनै पनि व्यक्तिले जबरजस्ती अर्काको कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु पार्ट अफ करप्सन हो । यसलाई नेपाल राष्ट्र बैंकले क्षम्य रूपमा लिँदैन ।’
![]() |
![]() |
![]() |
|---|
गभर्नर पौडेलले आर्थिक गतिविधि चलायमान बनाउन राष्ट्र बैंकले विभिन्न नीति परिमार्जन गरेको जानकारी पनि दिए । उनले भने, ‘मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा वित्तीय संस्थाहरूको नाफा बढाउन सहज बनाएका छौँ । महानगरमा रहेका धेरै बैङ्कहरूका शाखा बन्द गर्ने बाटो खोलिदिएका छौँ ।’
बैंकहरूको हकमा राम्रो नाफा र लगानी गरेर डिजिटल कारोबारमा ध्यान दिँदै अर्थतन्त्रको गतिमा सहयोग पुगोस् भनेर नै नेपाल राष्ट्र बैंकले काम गरिरहेको गभर्नर पौडेलको दाबी छ ।
‘बैंक तथा वित्तीय संस्थाहरूको नाफामा ध्यान दिइरहेका छौँ । तर, यसमा सही के हो र गलत के हो भनेर पोलिसी तयार पार्छौं । सबैको गुनासो हेरेर हामी अगाडि बढ्ने गरेका छौँ’, गभर्नर पौडेलले भने ।
Image Source: © https://mulpatra.com
बैंक तथा वित्तीय संस्थाहरूमा थुप्रिएको पैसा लगानी गर्न नेपाल राष्ट्र बैंक केन्द्रित रहेको उनले जानकारी दिए । ‘अर्थतन्त्रको मुभमेन्ट मास साइकोलोजीमा भर पर्छ । गएको १० वर्षमा धेरै परिवर्तन भएको छ । योबीचमा हिमालयन जाभादेखि आइटी क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । विभिन्न ठाउँमा सडक तथा पूर्वाधारमा राम्रो प्रगति भएको छ’, उनले भने ।
श्रीलंकाले अप्ठ्यारो अवस्थामा पुगेर पनि सुधारको गति समातेकाले नेपालले पनि गति समात्ने विश्वास गभर्नर पौडेलले व्यक्त गरे । उनले राम्रो काममा केन्द्रित हुनुपर्ने बताए ।



