एमाले अध्यक्षमा केपी ओलीको ह्याट्रिक, १९ मध्ये १७ पदाधिकारी पनि ओली प्यानलबाटै विजयी
काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओलीले शानदार विजय निकालेका छन् । उनको प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउँदै ओली तेस्रोपटक पार्टी अध्यक्षमा विजयी भएका हुन् ।

ओलीले १६६३ भोट ल्याएर अध्यक्ष जितेका छन् । पोखरेल भने ५६४ मतमा रोकिएका छन् । दुई उमेद्वारबीच मतान्तरमात्रै १०९९ मत रहेको छ ।
पार्टीको उपाध्यक्षमा भने सर्वाधिक लोकप्रिय मतसहित पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् । एमालेमा ५ उपाध्यक्षका लागि लोकप्रियता मतका आधारमा परिणाम घोषणा हुन्छ । यस क्रममा गुरुङपछि क्रमशः विष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्तले लोकप्रिय मत पाएर निर्वाचित भएका छन् ।
केपी शर्मा ओली प्यानलका गुरु बराल उपाध्यक्षमा पराजित भए भने पोखरेल प्यानलबाट आएका विष्टले बाजि मारेका हुन् ।
उता महासचिव पदमा पनि धेरैले आशा गरेजसरी सुरेन्द्र पाण्डेले जीत निकाल्न सकेनन् । महासचिवमा ओली प्यानलका शंकर पोखरेल नै विजयी भएका छन् । उनी यसअघि पनि पार्टी महासचिव नै थिए । शंकरले १२२८ मत ल्याएर प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई हराएका हुन् । पाण्डे ९९९ मतमा रोकिए ।
उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । कुल २२२७ भोट खसेकोमा भट्टले सर्वाधिक १४५२ मत पाए । महासेठले १३६८ र भट्टराईले १३४८ मत पाएर जित निकालेका हुन् । यसमध्ये भट्ट र महासेठ ओली प्यानलबाट आएका हुन् भने भट्टराई ईश्वर प्यानलबाट उमेदवार बनेर पनि विजयी भएका छन् ।
भट्टराईले जित्दै गर्दा ओली प्यानलका उमेदवारमात्रै नभइ अध्यक्ष ओलीका प्रमुख विश्वसपात्र मानिएका विष्णु रिमालले १ हजार ९१ मत ल्याएर चौँथो स्थानमा पुगे । तीन जनामात्रै उपमहासचिव हुने एमालेमा रिमालले जीत निकाल्न सकेनन्। त्यस्तै ईश्वर प्यानलका आनन्द पोख्रेलले ६३५, वैजनाथ चौधरीले ५१७ र राजेन्द्र गौतम २७० मत पाए। गौतमले यसअघि नै आफ्नो उम्मेदवारी निष्क्रिय गरेको घोषणा गरेका थिए।
एमालेको सचिव पदमा भने अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ । एमालेमा ९ जना सचिव रहेन व्यवस्था छ । यसमध्ये महेश बस्नेतले सबैभन्दा बढी मत प्राप्त गरेका छन् । उनले १५४४ मत ल्याएर विजयी भएका हुन् । जेनजी आन्दोलनपछि सिंगो पार्टी र नेतृत्वलाई संरक्षण गर्नुका साथै संगठनलाई पुनर्जीवन दिनमा बस्नेतको सबैभन्दा ठूलो भूमिका थियो ।
बस्नेतले देखाएको हिम्मत र उनको सफलतालाई सिंगो पार्टी पंक्तिले पनि शीरोधार्य गरेको यस निर्वाचनको नतिजाले देखाएको छ । उनीपछि दोस्रो धेरै मत ल्याएर विजयी हुनेमा पद्माकुमारी अर्याल रहेकी छन् । उनले १५३० मत ल्याएकी छन् । छविलाल विश्वकर्माले १५०६, शेरधन राईले १५०३, हिक्मतकुमार कार्कीले १३३७, खगराज अधिकारीले १२३१, यामलाल कंडेलले ११८५, राजन भट्टराईले ११८१ र भानुभक्त ढकालले ११०८ मत ल्याएर विजयी भएका छन् ।
यसरी १९ सदस्यीय एमालेको पदाधिकारीमा १७ जना ओली प्यानलबाट विजयी भए भने २ जना पोखरेल पक्षका जितेर आएका छन् ।
यस्तो बन्यो पदाधिकारी टीम ः
अध्यक्ष: केपी शर्मा ओली
उपाध्यक्षहरू:
पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट, रघुजी पन्त
महासचिव: शंकर पोखरेल
उपमहासचिवहरू:
लेखराज भट्ट
रघुवीर महासेठ
योगेश भट्टराई
सचिवहरू:
महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मत कुमार कार्की
खगराज अधिकारी
यामलाल कँडेल
राजन भट्टराई
भानुभक्त ढकाल
