ईश्वर र सुरेन्द्रप्रति गोकर्णको सम्मान, अष्टलक्ष्मी–युवराज ज्ञवालीलगायतको त्यागमा प्रशंसा
काठमाडौं–एमालेका नवनिर्वाचित उपाध्यक्ष गोकर्ण विष्टले रुपान्तरणसहितको पार्टी निर्माणको अभियानमा नेतृत्व गरेको भन्दै ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेप्रति सम्मान जनाएका छन् । उनले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यले उच्च नैतिकता र त्याग देखाएको भन्दै प्रशंसा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् उनले अध्यक्ष केपी ओलीसहित विजेता नेतालाई बधाई दिए । विष्टले लेखेका छन्– खुला प्रतिस्पर्धा र युगले खोजेको रुपान्तरणसहितको पार्टी निर्माणका लागि हाम्रो अभियानको नेतृत्व गर्नुहुने कमरेड ईश्वर पोखरेल र कमरेड सुरेन्द्र पाण्डेलगायतका सबै नेता कमरेडहरुको निष्ठा, साहस र संघर्षलाई हार्दिक सम्मान छ । त्यसैगरी आजीवन सामाजिक परिवर्तनको आन्दोलनमा समर्पित आदरणीय कमरेडहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहरा, केशव वडालसहितका अग्रजहरुले देखाउनुभएको उच्च नैतिकता र त्यागको प्रशंसा गर्दछु ।
संगठित प्रयत्नले पार्टीलाई सबल, गतिशील र एकताबद्ध बनाउँदै, देशलाई अन्यौल र निराशाबाट निकास दिलाउने उनले बाचा गरेका छन् ।
