सविधानको रक्षाका लागि फागुन २१ मा चुनाव हुनुपर्छ:डा.शेखर कोइराला
काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले २१ फागुनमा निर्वाचन हुनैपर्ने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र मोरङ ६ अन्तर्गत सुन्दरहरैँचा नगरपालिका– ४ का स्थानीय नेताहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले निर्वाचनका लागि जुट्न पनि पार्टी पंक्तिलाई निर्देशन दिए ।

प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको उनको भनाइ छ । ‘संविधान बचाउने र मुलुकलाई संक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो,’ कोइरालाले भने, ‘हामी त निर्वाचनको मिति कुरेर बसेका छौँ तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंकासमेत जन्मिएको छ ।’
सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनको भनाइ थियो । ‘दलका केही नेतालाई काठमाडौंभन्दा बाहिर जान दिइएको छैन, लुटिएका हतियार कैदीहरू बाहिरै छन् । यसबारेमा सरकारले के सोचेको छ ?,’ कोइरालाले प्रश्न गरे ।
