ईश्वर पोखरेल समूहले आन्तरिक लोकतान्त्रिकरणको लडाई निरन्तर गरिरहने
काठमाडौं । ११ औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारीमा पराजित भएका नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले काठमाडौंमा भेला गर्दै महाधिवेशनमा उठाइएका वैचारिक मुद्दा र पार्टी आन्तरिक लोकतान्त्रिककरणको लडाई निरन्तर अगाडि बढाउने निर्णय गरेको छ ।

आफू पक्षीय नेता कार्यकर्ताको भेला गरेर अध्यक्षमा पराजित भएका नेता ईश्वर पोखरेलले वैचारिक लडाईका लागि जिल्ला र प्रदेशस्तरमा विभिन्न फोरमहरू आयोजना गर्न र पार्टी सुद्धिकरण र लोकतान्त्रिककरणको मुद्धामा निरन्तर लाग्न समेत भनेका छन् र त्यस्ता फोरमहरुमा स्वयं उपस्थित हुने समेत बताएका छन् ।
भेलामा पार्टी निर्वाचित भएका ईश्वर पक्षिय नेताहरु समेत उपस्थित भएका थिए । उपमहासचिवमा निर्वाचित योगेश भट्टलाईलाईले अब पाँच बर्षे पार्टी नेतृत्वका विषयमा कुरा नउठाएपनि पार्टी पुनर्गठन, नेतृत्व हस्तान्तरण, जनताको बहुदलीय जनवादको आधारमा पार्टी निर्माण र आन्तरिक लोकतान्त्रिकरणजस्ता मुद्दालाई पार्टीको विधिविधानभित्र रहेर उठाइरहने बताएका छन् ।
भेलामा महाधिवेशनको मतपरिणामबाट विचलित नहुन आग्रह गर्दै पार्टीको एकता र सुदृढीकरणमा रचनात्मक भूमिका खेल्ने अठोट व्यक्त गरिएको छ । साथै, प्रतिनिधि छनोटदेखि बन्दसत्रसम्मका क्रियाकलापले पार्टीको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको र संरचनाको दुरुपयोग भएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
