बंगलादेशमा हादीको अन्त्येष्टि, हत्यारा समात्न २४ घण्टाको ‘अल्टिमेटम’

बंगलादेशमा हादीको अन्त्येष्टि, हत्यारा समात्न २४ घण्टाको ‘अल्टिमेटम’
  • ६ पुष २०८२, आईतवार १५:०२

काठमाडौं– बंगलादेशमा गोली हानी हत्या गरिएका इन्कलाब मञ्चका नेता शरीफ उस्मान हादीको अन्तिम संस्कार गरिएको छ । शनिबार अन्तिम संस्कारका क्रममा बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुससहित विभिन्न राजनीतिक दलका नेता र हादी समर्थकको ठूलो भीड जम्मा भएको थियो ।

mulpatra

हादीको शव शुक्रबार साँझ सिंगापुरबाट ढाका ल्याइएको थियो । गएको बिहीबार उनको मृत्यु भएपछि बंगलादेश र भारतबीचको सम्बन्धमा तनाव बढेको छ । हादीमाथि गोली हानेका व्यक्ति भारत पुगेका जनाइएको छ ।

हादीमाथि आक्रमणको एक दिनपछि नै बंगलादेशको निर्वाचन आयोगले मतदान तालिका घोषणा गरेको थियो । बंगलादेशमा आउँदो फेब्रुअरी १२ मा आमनिर्वाचन हुँदै छ ।

यही डिसेम्बर १२ मा ढाकामा हादीमाथि अज्ञात बन्दुकधारीले गोली हानेका थिए । र, उनी गम्भीर घाइते भएका थिए । हादीको मृत्युपछि भड्किएको हिंसाका क्रममा भारतीय उच्चायोगलाई पनि निसाना बनाइएको थियो ।

२४ घण्टे ‘अल्टिमेटम’
इन्कलाब मञ्चले उस्मान हादीका हत्यारा पक्राउ गर्न सरकारलाई २४ घण्टाको ‘अल्टिमेटम’ दिएको छ ।

बीबीसी बंगालीका अनुसार, हादीको अन्तिम संस्कारका क्रममा आयोजित सभामा मञ्चका सचिव अब्दुल्लाह अल जाबेरले ‘हत्यारा समात्न सरकारले के गरिरहेको छ ?’ भनेर प्रश्न गरेका थिए ।

उनले यो मुद्दा अघि नबढाइए गृह मामिलाका सल्लाहकार मोहम्मद जब्बार आलम चौधरी र मुख्य सल्लाहकारका विशेष सहायक खुदा बख्स चौधरीले २४ घण्टाभित्र राजीनामा दिनुपर्ने बताएका छन् ।

हादीका भाइ अबू बक्र सिद्दिकीले ‘राजधानीमा दिउँसो गोली हानिएपछि हत्यारा कसरी फरार हुन सके ?’ भन्ने प्रश्न गरेका थिए । उनले सात–आठ दिन बितिसक्दा समेत ‘हत्यारा पक्राउ गर्न किन सम्भव भएन ?’ भन्दै छिटो मुद्दा चलाउन आग्रह गरेका थिए ।

उनले भने, “शरीफ उस्मान हादी मेरा भाइहरूमध्ये सबैभन्दा कान्छा थिए । र, आज हामीले उनको शव बोक्नुपरेको छ ।”

अन्तरिम सरकार प्रमुख युनुस, सल्लाहकार परिषद्का सदस्यहरू, विभिन्न राजनीतिक दलका नेता–कार्यकर्तासहित ठूलो संख्यामा मानिस शनिबार दिउँसो आयोजित अन्तिम संस्कारमा सहभागी भएका थिए ।

बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी), जमात–ए–इस्लामी र नेसनल सिटिजन्स पार्टी (एनसीपी)का नेता पनि अन्तिम संस्कारमा सहभागी थिए । यद्यपि, इन्कलाब मञ्चको मागबारे युनुसले कुनै प्रतिक्रिया दिएनन् ।

अन्तिम संस्कारको प्रार्थनाअघि युनुसले हादीका समर्थकलाई सम्बोधन गरेका थिए । त्यसक्रममा उनले हादी बंगलादेशीको हृदयमा सधैँ जीवित रहने बताए ।

बंगलादेशको अखबार डेली ट्रिब्युनका अनुसार, मोहम्मद युनुसले भने, “हादी, तपाईंलाई हामी कहिल्यै बिर्सने छैनौँ । कसैले तपाईंलाई बिर्सन सक्दैन । पुस्तौँसम्म तपाईं हामीसँग रहनुहुनेछ । आज हामी यहाँ यो वाचा गर्न आएका छौँ कि तपाईं जेका लागि उभिनुभयो, त्यसलाई हामी पूरा गर्नेछौँ । केवल हामी मात्र होइन, बंगलादेशका जनताले यो जिम्मेवारी लिनेछन् ।”

हादी निर्वाचनमा भाग लिन इच्छुक रहेको र राजनीतिक सहभागिताका निम्ति उनले एक दृष्टिकोण प्रस्तुत गरेका पनि युनुसले बताए । “उनले हामीलाई एक प्रक्रिया देखाए । आउनुहोस्, हामी सबै मिलेर त्यो प्रक्रिया अपनाऔँ,” युनुसले भने ।

हादी आउँदो आमनिर्वाचनमा ढाका–८ बाट सम्भावित उमेदवार थिए । निर्वाचनका निम्ति जनसम्पर्क गरिरहेका बेला अज्ञात आक्रमणकारीले उनीमाथि गोली हानेका थिए ।

गम्भीर अवस्थामा उनलाई ढाका मेडिकल कलेजमा भर्ना गरिएको थियो । त्यसको तीन दिनपछि थप उपचारका निम्ति उनलाई सिंगापुर लगिएको थियो ।

बीबीसी हिन्दीबाट