भेनेजुयला भित्रने ट्यांकर कब्जा गर्दै अमेरिका, अन्तर्राष्ट्रिय बजारमा चर्कियो कच्चा तेलको मूल्य
काठमाडौं– अन्तराष्ट्रिय बजारमा सोमबार कच्चा तेलको मूल्य बढेको छ। अमेरिकाले भेनेजुयलाको तट नजिक अन्तर्राष्ट्रिय जलक्षेत्रमा एकपछि अर्को गर्दै तेल ट्यांकर जफत गरेपछि कच्चा तेलको मूल्य बढेको हो ।

सोमबार ब्रेन्ट क्रुड तेलको मूल्य ४४ सेन्ट (०.७३ प्रतिशत) बढेर प्रति ब्यारेल ६०.९१ अमेरिकी डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेल ४० सेन्ट (०.७१ प्रतिशत) वृद्धि भई ५६.९२ डलरमा कारोबार भइरहेको छ ।
तेलको मूल्यमा आएको यो उछाल भू–राजनीतिक घटनाक्रमका कारण भएको विश्लेषकहरूले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्धित भेनेजुयलाली तेल ट्यांकरहरूविरुद्ध पूर्ण नाकाबन्दी घोषणा गरेपछि बजारमा यसको प्रभाव देखिएको हो ।
![]() |
![]() |
![]() |
|---|
त्यसपछि भूमध्य सागरमा रूसी ‘छायाँ फ्लीट’का जहाजमाथि युक्रेनी ड्रोन आक्रमणको समाचारले पनि बजारलाई असर पारिरहेका अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । अमेरिकाको मध्यस्थतामा भइरहेको रूस–युक्रेन शान्ति वार्ता चाँडै दिगो सहमतिमा पुग्ने आशा बजारले गुमाउँदै गएको पनि विश्लेषण गरिएको छ ।
यी घटनाक्रमहरूले तेल आपूर्तिको अत्यधिक अवस्थाबारेको चिन्तालाई केही हदसम्म सन्तुलनमा ल्याएको छ र बजारको जोखिम पुनः मूल्यवृद्धितर्फ मोडिन सक्ने संकेत देखिएको छ ।
गत साता ब्रेन्ट र डब्लुटीआई दुबै कच्चा तेलको मूल्य करिब १ प्रतिशतले घटेको थियो भने डिसेम्बर ८ को सातामा झन्डै ४ प्रतिशतले गिरावट आएको थियो ।
Image Source: © https://mulpatra.com
भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोको सरकार विरुद्ध वासिङ्टनले दबाब अभियान तीव्र पार्दै गर्दा संयुक्त राज्य अमेरिकाले भेनेजुयला नजिकैको अन्तर्राष्ट्रिय जलक्षेत्रमा एकपछि अर्को गर्दै तेल ट्याङ्कर पछ्याइरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आदेश दिएको नाकाबन्दीको एक भागको रूपमा अमेरिकी तटरक्षकले दुई हप्तामा भेनेजुयलाको तटबाट आफ्नो दोस्रो जहाज कब्जा गरीसकेको छ। यदि अमेरिकाले तेस्रो ट्याङ्कर पनि कब्जा गर्न सफल भयो भने पछिल्लो दुई हप्तामा यो तेस्रो यस्तो कारबाही हुनेछ।



