Close

Recent Posts

रवि–बालेन–कुलमानलक्षित ओलीको काटक्षः बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्ला ?

रवि–बालेन–कुलमानलक्षित ओलीको काटक्षः बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्ला ?
  • १५ पुष २०८२, मंगलवार १६:३६

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा, बालेन शाह र उज्यालो नेपाल पार्टीको एकतालाई लक्षित गर्दै बाख्रा र कुखुराको मोर्चाबन्दीले बाघको मुकाबिला गर्न नसक्ने टिप्पणी गरेका छन् ।

mulpatra

मंगलबार काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अहिले त्यस्तो स्थिति पनि होइन । यसो हेर्छन् । विशालकाय एमाले देखेको छ । अनि योसँग पनि मिलौं भनेको छ, ऊसँग पनि मिलौं भनेको छ ।’

ओलीले थपे, ‘विशालकाय एमालेसँग भिड्नुछ । अनि लौ न मिलौं भनेर कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर सिंहको शिकार हुन्छ ? मुकाबिना हुन्छ ?’ कांग्रेसप्रति नरम सुनिएका ओलीले भने, ‘एकातिर नेपाली कांग्रेस छ । छेउमा नगएसम्म त मजै छ । छेउमा गएपछि त गाह्रै पार्छ नि नेपाली कांग्रेसले ।’

देशमा को लोकप्रिय छ भन्ने चर्चा निर्वाचनसँगै रहने उल्लेख गर्दै उनले घरघरबाट प्रधानमन्त्री घोषणा गरेको भन्दै बालेन शाहप्रति व्यंग्य गरे । ‘प्रधानमन्त्री बनाइसके मान्छेले– घरैमा । हामी चुनाव पर्खिरहेका छौं । कहिले होला ? फागुन २१ मा होला, अर्को वैशाखमा होला वा अर्को मंसिरमा होला । हामी चुनाव पर्खिरहेका छौं,’ उनले भने ।

महाधिवेशनबाट हामीले धेरै कुराको जवाफ दिएजस्तै निर्वाचनबाट हामी राष्ट्रिय फैसला पनि दिने उनले बताए । ‘त्यसको लागि हामी तयार छौं भन्ने सन्देश पनि महाधिवेशनले दिएको छ,’ ओलीले भने ।


लोकतन्त्र अजेय रहेकोले यसलाई कसैले जित्न नसक्ने ओलीले बताए । खेलमा खेलाडीहरूमध्ये को कतिबेला पछारिन्छ थाहा नभए पनि उत्कृष्ट खेलाडीले जित्ने उनको तर्क थियो ।