गृहमन्त्री भन्छन्, निर्वाचनमै केन्द्रित सरकार, सत्ता होइन जनादेश प्राथमिकता

गृहमन्त्री भन्छन्, निर्वाचनमै केन्द्रित सरकार, सत्ता होइन जनादेश प्राथमिकता
  • १६ पुष २०८२, बुधबार ११:२०

मोरङ– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको प्रमुख उद्देश्य सत्तामा टिकिरहने नभई तोकिएको समयमै निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु रहेको स्पष्ट पारेका छन् ।

mulpatra

विराटनगरमा बुधबार आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सरकारको सम्पूर्ण ध्यान निर्वाचनमार्फत सुशासन र राजनीतिक स्थिरता सुनिश्चित गर्ने दिशामा केन्द्रित रहेको बताएका हुन् । गृहमन्त्री अर्यालले लोकतन्त्रको आधार नै निर्वाचन भएको उल्लेख गर्दै आवधिक निर्वाचन बिना सुशासन सम्भव नहुने स्पष्ट पारे ।

निर्वाचन नहुँदा राज्य व्यवस्था कमजोर हुने र देश अस्थिरतातर्फ धकेलिने खतरा बढ्ने उनको भनाइ थियो । ‘निर्वाचन लोकतन्त्रको अनिवार्य प्रक्रिया हो । सुशासन कायम गर्न चाहने हो भने आवधिक निर्वाचनको कुनै विकल्प हुँदैन,’ उनले भने, ‘ताजा जनादेश प्राप्त सरकारले मात्र दृढताका साथ काम गर्न सक्छ, त्यसैले सरकारले निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेको छ ।’

उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सबै तयारी अघि बढिसकेको जानकारी पनि दिए । निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको र सोहीअनुसार प्रक्रिया अघि बढिरहेको उनले बताए । समानुपातिक प्रणालीतर्फका नामावलीसमेत निर्वाचन आयोगमा दर्ता भइसकेको उल्लेख गर्दै उनले सरकारले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र सुरक्षित रूपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

जेनजी जनआन्दोलनपछिको असहज र संवेदनशील परिस्थितिलाई सामान्यीकरण गर्न सरकार सफल भएको दाबी गर्दै गृहमन्त्री अर्यालले गृहमन्त्रालयको जिम्मेवारी चुनौतीपूर्ण भए पनि सुरक्षाको प्रत्याभूति दिन सरकार सक्रिय रूपमा लागिरहेको बताए । शान्ति सुरक्षा कायम गर्दै नागरिकलाई ढुक्क भएर मतदान गर्ने वातावरण सिर्जना गर्नु सरकारको दायित्व भएको उनको भनाइ थियो ।

कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीले प्रदेशको समग्र सुरक्षा अवस्था मूल्यांकन गर्न, सम्भावित जोखिम पहिचान गर्न र निर्वाचनका लागि प्रभावकारी सुरक्षा योजना तयार गर्न ठोस सहयोग पुग्ने विश्वास पनि उनले व्यक्त गरे ।

केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय सुदृढ गर्दै निर्वाचनलाई सफल बनाइने उल्लेख गर्दै गृहमन्त्री अर्यालले लोकतान्त्रिक प्रक्रियाप्रति सरकार दृढ रहेको सन्देश दिएका छन् ।