पुष भित्रै विशेष महाधिवेशन बोलाउने तयारीमा महामन्त्रीद्वय गगन र विश्वप्रकाश
काठमाडौं । नियमित महाधिवेशन नहुने अवस्था भएपनि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पुस भित्रै विशेष महाधिवेशन बोलाउने तयारी गरेको जानकारी दिएका छन् ।

मेलमिलाप दिवसको उपलक्ष्यमा शुभकामना दिँदै महामन्त्री थापाले राष्ट्रप्रति दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु कांग्रेस कार्यकर्ताको जिम्मेवारी हो भन्दै पार्टी विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अघि बढेको बताएका हुन् ।
सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन कार्यतालिका ल्याए पनि चुनाव अघि महाधिवेशन नगर्ने मनस्थितिमा रहेको बुझेका थापाले जसरी पनि महाधिवेशन गर्ने तयारी गरेको निकटस्थहरुले बताएका छन् ।
नियमित महाधिवेशन पनि नहुने र विशेषको प्रक्रिया पनि अगाडी नबढाउने बुझेपछि विशेष महाधिवेशन पक्षधर प्रतिनिधिहरूले कार्यवाहक सभापति खड्कालाई सम्बोधन गरेर केन्द्रीय कार्यालय सानेपामा हालै स्मरणपत्र पनि बुझाएका थिए।
बहुमतले विशेष महाधिवेशन आव्हान गरे विधानअनुसार ३ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने कानुनी व्यवस्था भए पनि सभापति तथा कार्यवाहक सभापतिले विशेष महाधिवेशन गर्ने पक्षमा देखिएका छैनन ।
नियमित महाधिवेशन समयमा नहुने भएपछि महामन्त्रीद्वय गगन र विश्वप्रकाशले नै विशेष महाधिवेशन आयोजना गर्ने तयारी गरेको शर्माका सचिवलायले जनाएको छ ।
