लिङ्देन र थापा अंकमाल गर्दै मिले, ४ वर्षपछि राप्रपा एकता
काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापा ४ वर्षपछि आफ्नो मूलघर राप्रपामै फर्किएका छन् । राप्रपा र राप्रपा नेपालबीच आज एकता भएको छ ।

६ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै थापाले राप्रपा नेपाललाई राप्रपामा विलय गराएका हुन् । सहमतिपत्रमा राप्रपाको एकता महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित भएर पछि राप्रपा नेपाल रोजेकाहरुलाई सोही जिम्मेवारीमा फर्काइने उल्लेख छ । साथै, सहमतिको आधारमा राप्रपा नेपालको तर्फबाट पदाधिकारी र सदस्यहरु केन्द्रीय कार्यसमितिमा रहने जनाइएको छ ।
सहमतिका आधारमा राप्रपाको २०७८ मंसिरमा सम्पन्न एकता महाधिवेशन हुँदाका बखत कायम रहेका वडा, गाउँ, नगर र जिल्ला तहका पदाधिकारी सदस्यहरुलाई तत् तत् जिल्लामा सम्मानजनक ढंगबाट गर्दै लगिने भनिएको छ ।
यस्तै राप्रपा नेपालका संयोजित संगठनका पदाधिकारी र सदस्यहरुलाई राप्रपाको सम्वन्धित भातृसंगठहरुमा सम्मानजनकरुपमा समायोजन गरिने भएको छ । एकता कार्यक्रमलाई सम्वोधन गर्दै नेताहरुले राष्ट्रवादी सबै शक्तिहरु एक ठाउँमा आउनुपर्नेमा जोड दिए । आगामी चुनावमा राप्रपालाई बलियो शक्तिका रुपमा स्थापित गर्न लागिपर्ने प्रतिवद्धता उनीहरुको छ ।
