फुटको संघारमा पुगेको भन्दै देउवा निवास पुगेको २५ केन्द्रीय सदस्यसँगै यस्तो छलफल
काठमाडौं– नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि विशेष महाधिवेशन गर्ने गरी अगाडि बढेपछि कांग्रेसमा तरंग सिर्जना भएको छ ।

महामन्त्रीद्वयले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै नियमितको स्थगन र विशेषको विकल्प सुझाएपछि ‘कांग्रेस फटुछ’ भन्ने कोणबाट बहस भइरहेको छ ।
यही बहसका बीच संस्थापननिकटका २५ केन्द्रीय सदस्य सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवासमा पुगेका छन् । यसअघि पनि नियमित महाधिवेशनको लागि दबाब बढाउँदै आएको संस्थापननिकटका दुई दर्जन केन्द्रीय सदस्यले शुक्रबार बिहान सभापति देउवालाई भेटेको जानकारी डा. डिला संग्रौलाले दिइन् ।
‘हामी यसअघिदेखि विभिन्न छलफलमा जुट्दै आएका केन्द्रीय सदस्यले आज बिहान सभापतिलाई भेट गरेका छौँ । भेटका क्रममा पछिल्लोपटक देखिएको विवाद सहमतिमा समाधान गर्न र पार्टीलाई एकढिक्का राख्न आग्रह गरेका छौँ,’ डिलाले शिलापत्रसँग भनिन्, ‘सभापतिले पनि सबैलाई मिलाएर लान आफू तयार रहेको बताउनुभएको छ ।’
पार्टीका नेताले कुनै माग राखेकै आधारमा पार्टीलाई विभाजनतर्फ लान नहुने मत यो समूहका नेताले राखेका हुन् । जवाफमा देउवाले आफूले पनि पार्टीको विभाजन नचाहेको बताएका छन् ।
सभापतिको ध्यानाकर्षण गराएपछि यही समूहका नेताले अहिले महामन्त्रीद्वय थापा र शर्मासँग भेट गरिरहेका छन् ।
आजै विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गर्दै ५४ प्रतिशतको मागका आधारमा विशेष महाधिवेशनको घोषणा गर्न पार्टीको ध्यानाकर्षण गराएका छन् । अन्यथा, अब विशेषको तयारी नरोकिने चेतावनी उनीहरूले दिएका छन् ।
आजै कांग्रेसको कार्यसम्पादन समितिको बैठक पनि बस्दै छ ।
