सद्दाम र नोरिएगापनि मादुरोजस्तै अमेरिकाकै सहयोगी, किन लियो अमेरिकाले नियन्त्रणमा
वासिङ्टन डिसी– भेनेजुएलाका राष्ट्रपतिको ‘गिरफ्तारी’ले विगतमा अमेरिकाले अन्य नेताहरूलाई नियन्त्रणमा लिएको घटनाहरूको झल्को दिएको छ। भेनेजुएलामा भएको ‘ठूलो स्तरको’ आक्रमणका बिच अमेरिकाले आफ्ना भेनेजुएलाका समकक्षी निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको भनी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको घोषणाले विश्वलाई चकित पारेको छ।

भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सरकारलाई मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसको अवस्थाबारे कुनै जानकारी नभएको बताएकी थिइन्। शनिबार राज्य टेलिभिजनमा प्रसारित एक अडियो सन्देशमा रोड्रिगेजले मादुरो र फ्लोरेस जीवित छन् भन्ने प्रमाणको माग गरेकी थिइन्।
अमेरिकाले लागुऔषध तस्करी गर्ने डुङ्गाहरू भनेको क्यारेबियन सागर र पूर्वी प्रशान्त महासागरमा अमेरिकी सेनाद्वारा गरिएका लगातारका घातक आक्रमणहरू र भेनेजुएलाका कथित लागुऔषध डुङ्गाहरूको डकिङ क्षेत्रमा भएको आक्रमणपछि यो घटनाक्रम तीव्र रूपमा विकसित भएको हो।
![]() |
![]() |
![]() |
|---|
मादुरोको कथित पक्राउले पानामाका पूर्वसैन्य नेता मानुएल नोरिएगा र इराकका पूर्व राष्ट्रपति सद्दाम हुसेन जस्ता अन्य नेताहरूलाई अमेरिकाले नियन्त्रणमा लिएको विगतको युगको स्मरण गराउँछ।
मानुएल नोरिएगा
ल्याटिन अमेरिकामा अर्को प्रत्यक्ष हस्तक्षेप गर्दै, अमेरिकाले सन् १९८९ मा पानामामा आक्रमण गरी त्यहाँका सैन्य नेता मानुएल नोरिएगालाई पदच्युत गरेको थियो। यसका लागि अमेरिकाले आफ्ना नागरिकको सुरक्षा, अलोकतान्त्रिक अभ्यास, भ्रष्टाचार र अवैध लागुऔषध व्यापारलाई कारण देखाएको थियो।
पानामामा आक्रमण गर्नुअघि, अमेरिकाले सन् १९८८ मा नोरिएगालाई मियामीमा लागुऔषध तस्करीको अभियोग लगाएको थियो, ठीक त्यसैगरी जसरी अहिले मादुरोलाई निशाना बनाइएको छ। अपरेसन सुरु हुनुअघि नोरिएगाले सन् १९८५ मा निकोलस अर्दितो बारलेटालाई राजीनामा दिन बाध्य पारेका थिए, सन् १९८९ को चुनाव रद्द गरेका थिए र देशमा अमेरिका विरोधी भावनालाई समर्थन गरेका थिए।
Image Source: © https://mulpatra.com
पानामामा गरिएको अमेरिकी हस्तक्षेप त्यस समयमा भियतनाम युद्धपछिको सबैभन्दा ठूलो अमेरिकी लडाइँ थियो। अमेरिकी सरकारले नोरिएगालाई लागुऔषध ओसारपसारको अभियोग सामना गर्न अमेरिका ल्याएर पानामाका जनताको अवस्था सुधार गर्ने जस्ता विभिन्न औचित्यहरू अघि सारेको थियो।
तर, जब जनरल नोरिएगाले अमेरिकी क्षेत्रीय योजनाहरूप्रति कम आज्ञाकारी हुने संकेत देखाउन थाले, तब वासिङ्टनले उनलाई अवांछित व्यक्ति घोषित ग¥यो ।
उनलाई अमेरिका ल्याइएपछि मियामीको अभियोगमा मुद्दा चलाइयो र सन् २०१० सम्म जेलमा राखियो। त्यसपछि उनलाई अर्को मुद्दाको सामना गर्न फ्रान्स सुपुर्दगी गरियो। फ्रान्सले एक वर्षपछि उनलाई पानामा फिर्ता पठायो। नोरिएगाको सन् २०१७ मा पानामाको जेलमै मृत्यु भयो, जहाँ उनी आफ्ना अपराधहरूको सजाय काटिरहेका थिए।
सद्दाम हुसेन
बग्दादसँग आमविनाशकारी हतियार रहेको गलत गुप्तचर सूचनाका आधारमा इराकमा अमेरिकाको नेतृत्वमा आक्रमण र कब्जा सुरु भएको नौ महिनापछि, डिसेम्बर १३, २००३ मा इराकी राष्ट्रपति सद्दाम हुसेनलाई अमेरिकी सेनाले नियन्त्रणमा लियो।
नोरिएगा जस्तै, सद्दाम पनि वर्षौँसम्म वासिङ्टनका प्रमुख सहयोगी थिए, विशेषगरी १९८० को दशकमा इराक–इरान युद्धका बेला, जसमा १० लाख मानिस मारिएका थिए।
अमेरिकाले २००३ को युद्धको तयारीका क्रममा कुनै आधार बिना नै सद्दामले अल–कायदा जस्ता सशस्त्र समूहहरूलाई समर्थन गरेको दाबी पनि गरेको थियो। तर, देशमा कुनै पनि आमविनाशकारी हतियार फेला परेनन्।
सद्दाम आफ्नो गृहनगर तिकरित नजिकैको एउटा प्वालमा लुकेको अवस्थामा फेला परेका थिए। इराकी अदालतमा उनीमाथि मुद्दा चलाइयो र मृत्युदण्डको सजाय सुनाइयो, जसको परिणामस्वरुप ३० डिसेम्बर २००६ मा मानवता विरुद्धको अपराधका लागि उनलाई फाँसी दिइयो।
जुआन ओर्लान्डो हर्नान्डेज
होन्डुरसका हर्नान्डेजको घटनाले अमेरिकाको दृष्टिकोणलाई केही विश्लेषकहरूले ‘दोहोरो चरित्र’ भनेका छन्।
हर्नान्डेजलाई फेब्रुअरी २०२२ मा राष्ट्रपति पद छाडेको केही दिनपछि नै तेगुसिगाल्पास्थित उनको घरबाट अमेरिकी एजेन्ट र होन्डुरसका सुरक्षाकर्मीको कारबाहीमा पक्राउ गरिएको थियो।
अप्रिल २०२२ मा, भ्रष्टाचार र अवैध लागुऔषध व्यापारमा संलग्नताको आरोपमा उनलाई अमेरिका सुपुर्दगी गरियो, र सोही वर्षको जुनमा ४५ वर्षको जेल सजाय सुनाइयो।
तथापि, १ डिसेम्बर २०२५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्नान्डेजलाई माफी दिए। त्यसको केही दिनपछि, होन्डुरसका शीर्ष अभियोजकले हर्नान्डेजका विरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गरे, जसले पूर्वनेता अमेरिकी जेलबाट मुक्त भएको केही दिनमै कानुनी र राजनीतिक उथलपुथललाई तीव्र बनाएको छ।
अल जजिरा



