एमाले दोलखाका नेताहरुबाट सामुहिक राजिनामा
काठमाडौं । फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनको लागि उम्मेदवार सिफारीसमा एकलौटी गरेको भन्दै नेकपा (एमाले) दोलखाका १० जना सदस्यले सामूहिक राजिनामा गरेका छन् । धेरै आकांक्षी भएपनि प्रतिनिधिसभा निर्वाचनका लागि पार्वत गुरुङको नाममात्र सिफारिस भएपछि जिल्ला कमिटीका १० जना सदस्यले राजिनामा दिएका हुन् ।

एकलौटी गरेर पार्वत गुरूङलाई मात्र उम्मेदवार सिफारिस गरेको भन्दै जिल्लाा उपसचिव हरिप्रसाद ओली सहित जिल्ला सचिवालय सदस्य गणेश शिवाकोटी, लेखा कमिटी अध्यक्ष ईश्वरीप्रसाद दाहाल, जिल्ला सदस्य श्यामसुन्दर शिवाकोटी, नीलकुमार खुलाल, होम थामी, इन्द्रबहादुर थामी, रमा शिवाकोटी, कुमार बस्नेत लगायतले सामूहिक राजीनामा दिएका छन्।
दोलखाबाट २०७९ सालमा उम्मेदवार भएर झिनो मतले पराजित बालकृष्ण शिवाकोटी समेत आकाक्षी थिए । उनी ओली निकट मानिन्छन । उता २०७० र २०७४ मा उम्मेदवार भएर सांसद बनेका पार्वत गुरुङ समेत ओलीका विश्वास पात्र र आर्थिक सहयोग गर्ने मध्येका एक हुन् । दुबै ओली निकट भएपनि बालकृष्ण शिवाकोटीलाई छोडेर गुरुङलाई मात्र एकल सिफारीस गरेपछि एमाले दोलखामा भाँडभैलो भएको छ ।
![]() |
![]() |
![]() |
|---|
सांसद भएर सूचना तथा सञ्चारमन्त्री र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनेका गुरुङका विश्वासपात्र दोलखा जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले बदनियत राखेको राजिनामा दिने समूहको आरोप छ ।
गुरुङले आर्थिक सहयोगको आडमा जबरजस्ती गरेको आरोप शिवाकोटी पक्षधर नेताहरुले लाएका छन् । गुरुङ ओली पक्षीय नेताहरुको कार्यक्रम, आतेजाते टिकट, चुनाव खर्च लगायतका सहयोग गर्ने मध्येमा पर्छन त्यही सहयोगको आडमा उनले जबरजस्ती गरेका आरोप गुरङमाथि लागेको छ ।



