कांग्रेसको विशेष महाधिवेशन कांग्रेसलाई उर्जा दिनः महामन्त्री विश्वप्रकाश शर्मा
काठमाडौँ । विशेष महाधिवेशनको अगुवाई गरेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी फुटहुने भए म आफै महाधिवेशन हलबाट बाहिरिने बताएका छन् । विशेष महाधिवेशन पार्टी फुटाउन नभई मुर्च्छा परेको कांग्रेसलाई ऊर्जा दिन भएको जनाएका छन् । विशेष महाधिवेशनमाबारे कुरा गर्दै सामाजिक सन्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै उक्त कुरा बताएका छन् ।

विधानअनुसार विशेष महाधिवेशन गरेका साथीहरुको मागप्रति दुवै महामन्त्री प्रतिवद्ध रहेको जनाउँदै उनले भनेका छन्, ‘विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन । यदि त्यस्तो हुन लागे अधिवेशनको हलबाट सबैभन्दा पहिला म बाहिर निस्कनेछु ।’
पत्रकार सम्मेलनमार्फत यही पुस २७ र २८ गते काठमाडौंमा दोस्रो विशेष महाधिवेशन आह्वान भइसकेको छ । त्यसमा शर्मा र अर्का महामन्त्री गगन थापाले सहभागी हुने घोषणा गरिसकेका छन् ।
![]() |
![]() |
![]() |
|---|
आज बिहान सार्वजनिक सन्देशमार्फत शर्माले विशेष महाधिवेशन माग गरेका पार्टीभित्रका साथीहरूको मागमा आफूहरूले साथ दिने प्रतिवद्धता गर्दै यो विधानअनुसार भएकाले सहभागी हुन सबैलाई अनुरोध गरेका छन् । उनले भनेका छन् ‘नेपाली काँग्रेसको पहिलो विशेष महाधिवेशनले नेपाली काँग्रेसलाई त्यो समयको सही मार्गमा सही ढङ्गले अघि बढ्न दुरदृस्टी र दृढ इच्छाशक्ति दिएको थियो । दोस्रो विशेष महाधिवेशन भिन्न राष्ट्रिय परिस्थिति र भिन्न आन्तरिक अवस्थाका बिचमा भइरहेको छ । यो संवेदनशील र ऐतिहासिक घडीमा हामीले एकातर्फ आन्तरिक एकतालाई सुदृढ बनाउने कार्य गरेर पार्टीभित्र नवीन आत्मविश्वास भर्नुछ । अर्कोतर्फ आजको नेपाल र अबको नेपालका बारे सुझबुझपूर्ण दृष्टि, योजना र सङ्कल्प अघि सारेर मुलुकको विश्वास जित्न नयाँ ढङ्गले अघि बढ्नु छ ।’



