महाभियोगको त्रासमा ट्रम्प, मादुरोले मेरो डान्स कपी गरेको भन्दै आरोप
वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सन् २०२६ को कंग्रेस (संसदीय) चुनावलाई आफ्नो राजनीतिक जीवनको रक्षा कवचका रूपमा व्याख्या गरेका छन् । वासिङ्टनमा आयोजित रिपब्लिकन सांसदहरूको रणनीतिक भेलालाई सम्बोधन गर्दै ट्रम्पले चुनावमा पार्टी पराजित भए आफूमाथि पुनः महाभियोग लाग्ने निश्चित रहेको जिकिर गरे ।

रिपब्लिकन सांसदहरूलाई कडा निर्देशन दिँदै ट्रम्पले भने, ‘तपाईंहरूले यो मध्यावधि चुनाव जसरी पनि जित्नैपर्छ । यदि हाम्रो जित भएन भने विपक्षी डेमोक्र्याटहरूले मलाई महाभियोग लगाउने कुनै न कुनै बहाना खोज्नेछन् । उनीहरू मलाई हटाउन तत्पर छन् ।’
पछिल्लो समय भेनेजुएलामा अमेरिकी हस्तक्षेप, निकोलस मादुरोको गिरफ्तारी प्रकरण र ग्रिनल्याण्ड खरिदको विषयले अन्तर्राष्ट्रिय राजनीति ततािरहँदा ट्रम्पले भने घरेलु राजनीतिमा आफ्नो बचाउको तयारी थालेका हुन् । उनले आफूविरुद्ध हुनसक्ने सम्भावित अनुसन्धान र कानुनी पासोबाट बच्नका लागि पनि संसदमा रिपब्लिकनको बहुमत अनिवार्य रहेको औंल्याए ।
![]() |
![]() |
![]() |
|---|
‘महँगी र स्वास्थ्य सेवालाई एजेन्डा बनाऊ’
राष्ट्रपति ट्रम्पले आफ्ना सांसदहरूलाई आन्तरिक गुटबन्दी र मतभेद तत्काल अन्त्य गर्न आग्रह गरे । उनले अमेरिकी मतदाताको मन जित्न स्वास्थ्य सेवा (हेल्थ केयर), निर्वाचनको निष्पक्षता र लैङ्गिक मुद्दाहरूमा पार्टीको धारणा स्पष्ट पार्न निर्देशन दिए । विशेषगरी बढ्दो महँगीका कारण आक्रोशित जनतालाई रिझाउन ठोस योजना लिएर जानुपर्ने उनको भनाइ थियो ।
डेमोक्र्याटहरूको बलियो पक्ष मानिने ‘ओबामाकेयर’ को प्रभाव तोड्न ट्रम्पले रिपब्लिकनहरूलाई स्वास्थ्य सेवाको मुद्दामा स्वामित्व लिन आग्रह गरे । उनले भने, ‘स्वास्थ्य सेवा निकै महत्त्वपूर्ण विषय हो, यसको समाधान खोजेर जनतालाई रिपब्लिकनहरूको विकल्प दिनुहोस् ।’
Image Source: © https://mulpatra.com
‘मादुरोले मेरो डान्स कपी गरे’
करिब ८४ मिनेट लामो भाषणमा ट्रम्पले गम्भीर राजनीतिक मुद्दाका साथै रमाइला किस्साहरू पनि सुनाए । उनले भेनेजुएलाका नेता निकोलस मादुरोले आफ्नो ‘नाच्ने शैली’ को नक्कल गरेको भन्दै ठट्टा गरे ।
सोही क्रममा उनले आफ्नी पत्नी मेलानिया ट्रम्पको प्रसंग पनि कोट्याए । ट्रम्पका अनुसार, मेलानियाले उनलाई सार्वजनिक मञ्चमा ननाच्न सुझाव दिने गरेकी छन् । ‘मेलानिया निकै परिष्कृत छिन्, उनले मलाई भन्छिन्– यो राष्ट्रपतिका लागि सुहाउने कुरा होइन,’ ट्रम्पले यसो भन्दा हलमा हाँसो गुञ्जिएको थियो ।
इतिहास र वर्तमानको द्वन्द्व
समाचार संस्था रोयटर्स र फस्र्टपोस्टका अनुसार, ट्रम्पले भाषणमा ६ जनवरी २०२१ को क्यापिटल हिल काण्ड र सेयर बजारको वृद्धिलाई पनि जोडेका थिए । सामान्यतया राष्ट्रपतिको चुनाव जित्ने दलले मध्यावधि चुनाव हार्ने ऐतिहासिक प्रचलनलाई चुनौती दिन उनले सांसदहरूलाई जनताको मनोविज्ञान बुझ्न आग्रह गरे ।
स्मरण रहोस्, सन् २०१७ देखि २०२१ को पहिलो कार्यकालमा ट्रम्पले दुई पटक महाभियोगको सामना गरेका थिए । यद्यपि, दुवै पटक सिनेटले उनलाई सफाइ दिएको थियो । हाल दोस्रो कार्यकालमा ट्रम्पले अध्यागमन, सैन्य कारबाही र संघीय नियमनमा आफ्नो एकल अधिकार (एक्जिक्युटिभ पावर) को अभ्यास बढाइरहेका छन् । उनले लगाएको भन्सार शुल्कसम्बन्धी विवादमा भने सर्वोच्च अदालतको फैसला आउन बाँकी नै छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



