विश्व–गगनकै पक्षमा उभिएर ३० भन्दा बढी जिल्लाका सभापतिले गरे महाधिवेशनको समर्थन
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा जुटेका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन बोलाएपछि पार्टीका जिल्ला संरचनाहरू खुलेरै पक्षमा उभिन थालेका छन्।

अहिलेसम्म ललितपुर कांग्रेस सभापति जितेन्द्रकुमार श्रेष्ठ, कास्की सभापति किशोरदत्त बराल, सिन्धुपाल्चोक सभापति जंगबहादुर लामा, उदयपुर सभापति हिमाल कार्की लगायतका जिल्ला सभापतिहरूले औपचारिक विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनको स्वागत र सहभागिताका लागि अपिल गरेका छन्।
पार्टी स्रोतका अनुसार ३० भन्दा बढी जिल्ला सभापति विशेष महाधिवेशनको पक्षमा उभिइसकेका छन्।
![]() |
![]() |
![]() |
|---|
विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने तय भइसकेको छ। विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आउने क्रमसमेत सुरू भइसकेको बताइएको छ।
यता, सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका अधिकांश नेताहरूले भने विशेष महाधिवेशनको औचित्य नरहेको दाबी गर्दै आएका छन्। पार्टीभित्र बढ्दो दबाबका बीच नेता शेखर कोइरालाले विशेष महाधिवेशनलाई ‘संकल्प महाधिवेशन’मा रूपान्तरण गर्न सभापति देउवालाई आग्रह गरे।
असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका थिए। तर त्यसपछि हस्ताक्षर सनाखतलगायतका प्रक्रिया अघि नबढाइएको आरोप लगाउँदै महामन्त्रीद्वयले विशेष महाधिवेशन विधानतः बाध्यकारी भएको निष्कर्षसहित आफैं आह्वान गरे।
Image Source: © https://mulpatra.com
कांग्रेस विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरे ३ महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



