भाँडियो रास्वपा र कुलमानबीचको एकता, उज्यालो नेपालको अध्यक्ष बने कुलमान
काठमाडौँ । केही दिन अघि भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको पार्टी एकता प्रक्रिया भाँडिएको छ । पुस १४ गते दुई दलबीच एकता गर्ने सहमति भए पनि पद, शक्ति बाँडफाँड र संरचनात्मक विषयमा सहमति जुट्न नसक्दा १२ दिनमै एकता प्रक्रिया टुटेको हो ।

एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीले शनिबार आकस्मिक केन्द्रीय कमिटी बैठक बोलाएर कुलमान घिसिङलाई पार्टी अध्यक्षमा चयन गरेको छ । बैठकपछि साँझ ६ बजे पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गर्ने तयारी रहेको पार्टीले जनाएको छ । यसअघि कुलमान पार्टीका संरक्षकको भूमिकामा थिए ।
रास्वपातर्फ शनिबार भर्चुअल माध्यमबाट बसेको आकस्मिक सचिवालय बैठकले उज्यालो नेपालसँग भएको एकता सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ । बैठकमा सभापति रवि लामिछानेले उज्यालो नेपाल पक्षबाट पछिल्ला समयमा आएका नयाँ–नयाँ मागका कारण एकता सम्भव नभएको ब्रिफिङ गरेका थिए । उक्त निर्णयमा वरिष्ठ नेता बालेन शाह पनि सहमत रहेको बताइएको छ ।
![]() |
![]() |
![]() |
|---|
रास्वपा नेताहरूका अनुसार उज्यालो नेपालले पार्टीको नाम परिवर्तनदेखि प्रत्यक्ष निर्वाचन क्षेत्र तोकेर माग राख्नुका साथै समानुपातिक सिटमा पनि भागबन्डाको अडान लिएको थियो । पूर्व सहमतिबाट पछि हट्दै शक्ति बाँडफाँडमा कडा माग आएपछि पार्टी एकता जोगाउन नसकिएको रास्वपा पक्षको भनाइ छ ।
यता उज्यालो नेपालका नेताहरूले भने रास्वपाले आफ्नो शक्ति र भूमिका स्वीकार गर्न नसक्दा एकता भाँडिएको दाबी गरेका छन् । दुवै पार्टी अब अलग–अलग रूपमा आगामी चुनावमा जाने भएका छन् ।



