सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधि हो राजसंस्थाः पूर्वराजा ज्ञानेन्द्र शाह

सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधि हो राजसंस्थाः पूर्वराजा ज्ञानेन्द्र शाह
  • २७ पुष २०८२, आईतवार ०७:५४

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल गम्भीर राष्ट्रिय सङ्कटतर्फ उन्मुख हुँदै गएको भन्दै देशको भविष्यप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा जारी भिडियो सन्देशमार्फत उनले देश निर्माणको चिन्ता अब देश नै टिक्न सक्छ कि सक्दैन भन्ने स्तरसम्म पुगेको उल्लेख गरेका हुन्।

mulpatra

नारायणहिटी राजदरबारबाट बाहिरिएको करिब दुई दशक बितिसक्दा पनि मुलुक निरन्तर राजनीतिक, आर्थिक र सामाजिक सङ्कटमा फसेको उनको भनाइ छ। पूर्वराजा शाहले विगतमा विकास र राष्ट्रनिर्माण हुन नसकेकोमा चिन्ता रहेको भए पनि अहिले भने राष्ट्रिय अस्तित्वकै विषयमा निराशा पैदा भएको बताए।

उनले भने, “हिजो देश बनाउन नसकिएकोमा चिन्ता थियो, आज देश नै बच्न सक्छ कि सक्दैन भन्ने निराशा जागेको छ।” भाषण, जादु वा चमत्कारले मात्र देश नबन्ने स्पष्ट पार्दै उनले सबै जातजाति, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधित्व गर्ने राजसंस्थाले जनताबाट प्राप्त जिम्मेवारीबाट कहिल्यै पन्छिन नसक्ने धारणा राखे।

mulpatra mulpatra mulpatra

पूर्वराजा शाहका अनुसार, पृथ्वीनारायण शाहले देखाएको ‘पृथ्वीपथ’ नै आज पनि राष्ट्रिय एकता र स्थायित्वको आधार हो। बडामहाराजधिराज पृथ्वीनारायण शाहले नेपाललाई चार वर्ण र ३६ जातिको साझा फूलबारीका रूपमा परिकल्पना गरेको स्मरण गर्दै उनले यो देश राजा मात्रको नभई जनता र राजाको समान स्वामित्वको राष्ट्र भएको सन्देश इतिहासमै स्थापित भइसकेको बताए।

राजसंस्थाबाट आफूहरू जनताको चाहनाअनुसार सहयोगी भावनाका साथ बाहिरिएको उल्लेख गर्दै पूर्वराजा शाहले भने, “शान्ति, आर्थिक प्रगति र स्थायित्व दिने प्रतिबद्धतासहित सत्तामा पुगेका दलहरूको आग्रहअनुसार हामीले श्रीपेच जनताको नासो जनताकै सुरक्षित निकायमा बुझाएका हौँ।”

उनले राष्ट्रिय एकता दिवसलाई आत्मसमीक्षा र कर्तव्यबोधको अवसरका रूपमा लिन आग्रह गर्दै सबै नेपालीलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे। “नेपाली जहाँ रहे पनि नेपाली नै हुन्छ। राष्ट्रको प्रतिष्ठासँग नेपालीको प्रतिष्ठा गाँसिएको हुन्छ,” उनले भने।

Image Source: © https://mulpatra.com

पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो सन्देशलाई राष्ट्रिय एकताको आह्वानका रूपमा प्रस्तुत गर्दै सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा राजसंस्थाले ऐतिहासिक रूपमा खेलेको भूमिकालाई स्मरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com